काठमाडौँ । प्रस्तावित नेकपा (एकीकृत–समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफूहरूले १० बुँदे सहमतिलाई नै स्वीकार नै नगरिएको अवस्थामा तेस्रो धार भनिएकोमा ओली क्याम्पमा छिर्न हतारो भएको अभिव्यक्ति दिनुभएको ।
नेपाल पक्षीय एक जना नेता राजेन्द्र राईले एउटा अनलाइन मिडियासँग कुरा गर्दै १० बुँदेले पार्टीलाई जेठ २ को अवस्थामा फर्काउन नसक्ने दाबी गरेका हुन् ।
‘१० बुँदे सहमतिलाई नै हामीले स्वीकार गरेकै छैनौं । १० बुँदे भनेको जेठ २ होइन । यसलाई हामीले त्यतिबेलै अस्वीकार गरको हो । उहाँहरूलाई जान सजिलो होस् भनेर यस्तो केही गर्नुभएको होला’ उनले भने– ‘जेठ २ को कुरासँगै अरू विषय पनि थपिएका छन् । सर्वोच्च अदालतको फैसला र संसद विघटनबारे समान धारणा हुनुप¥यो ।’
मध्यमार्गीजस्तो देखिएका केही नेताहरू आउँछन् कि भन्ने लागेको भए पनि पूर्ण रूपमा भर नपरेको राईले बताए। आफूहरू मानसिक रूपमा तयार भइसकेकाले दोस्रो तहका नेताहरू नआउँदैमा अभियान नरोकिने उनले बताए ।
‘उहाँहरू आए पनि, नआए पनि अगाडि बढ्ने भनेर मानसिक रूपमा तयार भएको हो । यसले हाम्रो अभियानलाई असर गर्दैन । आउँदाखेरि सदस्य बढ्छन् तर त्यो हिसाबमा फरक पर्ने नै भयो’ उनले भने– ‘यो प्राविधिक र साङ्गठनिक कुरा मिलेर मात्र हुँदैन । हार्दिकता हुनुप¥यो । मिल्ने दुबै पक्षको चाहना हुनुप¥यो । पार्टीमा ल्याउने र मिलाएर सक्ने भन्ने ओलीको चाहना हो ।’
कतिपय नेताहरूको १० बुँदे नभए पनि ओलीतिरै बस्ने मन भएको नेता राईले आरोप लगाए ।
‘उहाँहरू १० बुँदे नभएको भए पनि लुरुलुरु जाने अवस्था थियो । केहीलाई फेससेभिङ चाहिएको थियो’ उनले भने– ‘उहाँहरूलाई ओली क्याम्पमा छिर्ने हतारो थियो । तर केपी ओलीले १० बुँदे कार्यान्वयन गर्ने पनि होइन ।’ (सेतोपाटी)