काठमाडौँ । सत्तारूढ गठबन्धनले सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेको छ ।
सत्तारूढ नेपाली काङ्ग्रेस, नेकपा (माओवादी–केन्द्र), जनता–समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र प्रस्तावित नेकपा (एकीकृत–समाजवादी) संसदीय दलका प्रमुख सचेतक, सचेतकसहितको २०७८ भदौ ७ गते सिंहदरबारमा बसेको बैठकले सभामुख सापकोटामाथि प्रमुख प्रतिपक्ष दलका नेता ओली र सोही दलका सांसदले उहाँकै कार्यकक्षमा सभामुख विरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो ।
बैठकले अध्यक्ष ओली र उहाँका दलका सांसदलाई सभामुख विरुद्धको धम्कीपूर्ण अभिव्यक्ति वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध भएको निष्कर्ष निकाल्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न पनि सचेत गराएको छ ।
प्रमुख प्रतिपक्ष दलका नेता र सांसदले सभामुख विरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्ति संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध भएकाले त्यसप्रति आपत्ति जनाउँदै संवैधानिक मर्यादाको ख्याल गर्न आग्रह गरिएको नेकपा माओवादी–केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।
उहाँले भन्नु भयो– ‘सम्माननीय सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का माननीय सदस्यले सम्मानीय सभामुखज्यूलाई लक्षित गरी दिनुभएको संसदीय मर्यादा विपरीत बलप्रयोगजस्ता धम्कीपूर्ण अभिव्यक्ति र सोही दिन प्रमुख प्रतिपक्ष दलका नेताले सार्वजनिक मिडियामा सम्माननीय सभामुख विरुद्ध दिनुभएको धम्कीमूलक अभिव्यक्तिको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको संवैधानिक व्यवस्थानुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै सङ्घीय संसदको संरक्षक पनि हो ।
सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्ति वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध हुन । संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदको दायित्व हो । अतः सम्माननीय सभामुख विरुद्ध दिइएका धम्कीपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न हार्दिक आग्रह गर्दछौँ ।’
बैठकपछि सत्तारूढ नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा (माओवादी–केन्द्र) का प्रमुख सचेतक गुरुङ, जनता–समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादव, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधि जीवनराम श्रेष्ठले जारी गर्नुभएको संयुक्त वक्तव्यमा नेकपा (एमाले) का सांसदले सभामुखको कार्यकक्षमा संसदीय मर्यादा विपरीतका गतिविधि गरेको दावी गर्दै निन्दा र भत्र्सनासमेत गरिएको छ ।
नेकपा (एमाले) का सांसदले गत भदौ ३ र ४ गते सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा पुगेर पार्टीको तर्फबाट कारबाही गरिएका माधव नेपालसहितका सांसदमाथि कारबाही गरिएको सूचना टाँस गर्न दबाब दिएका थिए भने संसदीय दलका नेता ओलीले सभामुखले दलले गरेको कारबाहीअनुसार सूचना टाँस नगरेको भन्दै सभामुख सापकोटाप्रति आक्रोश व्यक्त गर्नुभएको थियो ।
