काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्पत्तिकर असुल गर्नका लागि सम्बन्धित करदाताको घरआँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाउने भएको छ ।
महानगरपालिकाले यसअघि नै घरजग्गा र सम्पत्तिकर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरिसकेपछि पनि करअसुली नभएपछि यस्तो तरिका अपनाएको हो । महानगरपालिकाले यसअघि २० जना करदाताको नाम सार्वजनिक गरिसकेको छ ।
तीमध्ये कर तिर्ने गरी प्रक्रियामा नआउने करदाताको कार्यालय तथा घरआँगन परिसरमा भदौ ९ गतेदेखि पञ्चेबाजा बजाउन लागिएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले बताएका छन् । उनका अनुसार यी करदाताबाट करिब ७० करोड रुपियाँ सम्पत्ति कर उठाउन बाँकी छ ।
‘रचनात्मक ढङ्गले करदातालाई कर तिर्न आग्रह गर्न गर्न लगेका हौँ’ उनले भने– ‘पञ्चेबाजासँगै कर तिर्न आग्रह गर्दै नाचगान पनि हुन्छ ।’
उनका अनुसार मौलिक बाजा बजाएर करदातालाई सचेत गर्न लागिएको हो ।
अधिकारीका अनुसार करदाताबारे जानकारी दिएर गीत तयार गर्न र पञ्चेबाजा बनाउन बालाजुको एक महिला पञ्चेबाजा समूहलाई जिम्मा दिइएको छ ।
‘महिलाहरुको समूहले पञ्चेबाजा बजाएर नाचगान गरेपछि महानगरपालिकाले माइकिङ गरेर कर तिर्न आह्वान गर्छ’ उनको भनाइ थियो ।
कर नतिर्नेहरूको सूचीमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालदेखि व्यवसायी अजेय राज सुमार्गीसम्मको नाम छ ।
नेपाल विद्युत प्राधिकरण, खाद्य संस्थान, साझा भण्डार, राष्ट्रिय नाँचघर, कर्मचारी सञ्चयकोष लगायतका सरकारी तथा सार्वजनिक निकाय तथा संस्थानले पनि कर तिर्न अटेरी गरेको महानगरपालिकाले जनाएको छ ।
नाम सार्वजनिक गरिएका करदाताले करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिने विभागका प्रमुख डा. अधिकारीकाले बताए ।
महानगरपालिकाका अनुसार यसअघि असार १६ गते नाम सार्वजनिक गरिएका करदातामध्ये धेरै सम्पर्कमा आएका छन् । केहीले पहिलो किस्तावापत कर बुझाएका छन् । केहीले सम्पत्तिको विवरण बुझाएका छन् ।
सम्पर्कमा आउनेहरुले समय माग गरेर कर तिर्न मञ्जुर गरेकाले मौका दिइएको छ । तीमध्ये केही सम्पर्कमा आएका छैनन् । विभाग ती करदाताको सेवा बन्द गर्ने तयारी गरिरहेको छ ।