बुटवल । प्रदेशसभा सदस्यद्वय विमलाकुमारी खत्रीवली र अजय शाहीमाथि पार्टीले गरेको कारबाहीलाई प्रदेशसभाले मान्यता नदिएपति नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दल आक्रोशित बनेको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले भदौ ६ गते आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्यद्वय वली र शाहीले गत वैशाख १९ गते, जेठ १९ गते र जेठ ३० गते संसदीय दलको बैठकमा सहभागी भएको दाबी गरेका छन् । एमाले संसदीय दलको सदस्यका हैसियतले नै बैठकमा उनीहरू सहभागी भएको ढकालको जिकिर छ ।
एमाले संसदीय दलले प्रदेशसभा सचिवालयले सांसदद्वयको सन्दर्भमा कारबाही गर्न नमिल्ने जिकिरसहित पठाएको पत्रका बारेमा पनि ढकालले आपत्ति जनाएका छन् ।
सभामुख पूर्णबहादुर घर्तीको भूमिकामाथि प्रश्न उठाउँदै ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ– “निज सभामुख आबद्ध नेकपा (माओवादी–केन्द्र) पार्टीका प्रदेश सदस्यलाई पार्टीकेन्द्रले निष्काशन गरेको जानकारी प्रदेशसभालाई २४ घण्टाभित्र सूचना टाँसी सार्वजनिक गर्ने सभामुखले नेकपा (एमाले) संसदीय दलले गरेको कारबाहीलाई उल्टै न्यायाधीशले जस्तै फैसला गरी सदनमा जानकारी गराउनुनपर्ने भन्ने निर्णय विधिको शासन विपरीत, पक्षपातपूर्ण र संसदीय मूल्यमान्यता विपरीत छ ।”