काठमाडौँ । नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेलअभिभ विश्वविद्यालयमाझ शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवम् वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल र इजरायलमाझ सो समझदारी पत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा अन्जान शाक्यले जानकारी दिनुभयो ।
इजरायलको तेलअभिभ विश्वविद्यालय परिसरमा आयोजित सङ्क्षिप्त कार्यक्रमबिच भएको उक्त समझदारी पत्रमा नेपालको तर्फबाट त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाल र इजरायलको तर्फबाट सो विश्वविद्यालयका उपकुलपति प्रा मिलेट समिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गर्नुभएको थियो ।
शिक्षाध्यक्ष भुसालले मुख्य गरेर बिपत् व्यवस्थापनको क्षेत्रमा त्यहाँको विश्वविद्यालयका विज्ञ र यहाँका विश्वविद्यालयका विज्ञमाझ अनुभव आदानप्रदानमा सहज हुने अपेक्षा लिएको जानकारी दिनुभयो ।
पुल्चोक क्याम्पससित पनि समझदारी
सोही अवसरमा पुल्चोक इञ्जिनियरिङ क्याम्पस र तेलअभिभ विश्वविद्यालयको बिपत् व्यवस्थापन विभागबिच यसअघि नै भर्चुअल माध्यमबाट हस्ताक्षर भइसकेको समझदारी पत्रसमेत प्रकाशित गरिएको थियो ।
समझदारी पत्रमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसका निर्देशक जगतकुमार श्रेष्ठ र तेल विश्वविद्यालयको बिपत् व्यवस्थापन विभागका प्रमुख डा बु्ररिया एडिनीले हस्ताक्षर गर्नुभएको थियो ।

