काठमाडौं । संघीय संसदका दुवै सदनको अधिवेशन आजदेखि अन्त्य हुँदै छ । आजै राति १२ बजेदेखि संसदका दुवै सदनको अधिवेशन अन्त्य हुने घोषणा गरिएको छ ।
राष्ट्रियसभा र प्रतिनिधि सभाको दुबै सदन अन्त्य गर्ने निर्णय गरेर सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिस अनुसार राष्ट्रपति कार्यालयबाट संसदमा अन्त्य भएको पत्र संसदमा सभामुख अग्नि प्रसाद सापकोटाले पढेर सुनाउनु भएको छ ।
सर्वाेच्च अदालतले पुनस्र्थापना गरेको प्रतिनिधि सभा विजनेस नै नपाई अन्त्य भएको छ । केपी शर्मा ओलीले जेठ ८ गते विघटन गराएको प्रतिनिधि सभा असार २८ मा अदालतले पुनःस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो ।
प्रतिनिधिसभा पुनस्र्थापना भएपछि साउनको ३ गते पहिलो बैठक बसेको थियो । अधिवेशन सुरु भएको २६ दिनमा ९ वटा बैठक बस्यो तर, कुनैपनि विजिनेसमा छलफल नै भएन ।
प्रतिनिधि सभामा ओली सरकारले ल्याएका १५ वटा अध्यादेशमाथि पनि छलफल नगरी सरकारले संसद् अधिवेशन अन्त्य गरिदिएको छ ।
सभामुख अग्नि प्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवा र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग संसद प्रभावकारी बनाउन आग्रह गरे पनि सरकारले विजनेस नै नदिई अधिवेशन गरेको हो ।