काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको फेरिल्याण्ड इन्टरनेसनल स्कुलले अनलाइन कक्षा प्रभावकारी बनाउन अभिभावकसँग अन्तर्क्रिया गरेको छ । शुक्रबार बिहान विद्यालयले कार्यक्रमको आयोजना गरी अभिभावकहरूसँग छलफल गरेको हो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले कोरोना संक्रमण बढ्दै गइरहेको सन्दर्भमा तत्काल बालबालिकालाई विद्यालयमा उपस्थित गराएर भौतिक रुपमा कक्षा सञ्चालन गर्न सम्भव नभएकोले अनलाइन कक्षालाई थप प्रभावकारी बनाउन अभिभावकले सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले अनलाइन कक्षा अध्यापन गर्दा आइपर्ने प्राविधिक समस्याबारे र जानकारी दिँदै घरमा बालबालिकालाई कक्षाको लागि कसरी तयार पार्ने भन्ने विषयमा धारणा राख्नुभएको थियो । प्रिन्सिपल अधिकारीले बालबालिकाको पहिलो शिक्षक अभिभावक नै भएको उल्लेख गर्दै अहिले बालबालिका घरैमा बसेर पढिरहँदा पहिलो, दोस्रो, तेस्रो शिक्षकसमेत अभिभावक नै हुने बताउनुभयो ।
यस्तै, शिक्षिका शुरभी भण्डारीले विद्यार्थी भौतिक रुपमा उपस्थित हुन नसके पनि कोर्स पुरा गर्न कठिनाइ नहुने जानकारी दिनुभयो । उहाँले अभिभावकहरूलाई कोर्सको चिन्ता नलिन आग्रह गर्दै बरु कक्षालाई थप प्रभावकारी बनाउन अभिभावकको सुझाव महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

उपस्थित अभिभावकले विद्यालयले सञ्चालन गरिरहेको अनलाइन शिक्षाप्रति सन्तोष व्यक्त गरेका थिए । अभिभावकले बालबालिकालाई भर्चुअल माध्यमबाटै भएपनि थप अतिरिक्त क्रियाकलापमा सहभागी गराउन आग्रह गरेका थिए ।
अभिभावक कृष्णा श्रेष्ठले अनलाइन कक्षा प्रभावकारी रहेको उल्लेख गर्दै थप प्रभावकारी बनाउन भर्चुअल माध्यमबाटै भएपनि अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले बालबालिकालाई आफ्ना कुरा भन्न प्रोत्साहन गर्नुपर्ने र उनीहरूका समस्याबारे शिक्षकले व्यक्तिगत रुपमा पनि चासो राख्नुपर्ने सुझाव दिनुभएको थियो ।
कार्यक्रममा विद्यालयका निर्देशक राम गौतमले अभिभावकले दिएका सुझाव व्यवहारमा लागू गर्दै कक्षालाई थप प्रभावकारी बनाइने बताउनुभयो ।

