काठमाडौँ । कृषिबिमाबापत सरकारले दिँदै आएको रकममा ५० प्रतिशत कटौती गरेकोमा चार किसान सङ्गठनले विरोध गरेका छन् ।
अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण रानाको हस्ताक्षरमा २०७८ साउन २७ गते जारी प्रेसवक्तव्यमा विरोध व्यक्त गरिएको छ ।
कृषिक्षेत्र अनाकर्षक र उपेक्षित भइरहेका बेला सरकारले कृषिबिमाबापत केही रकम दिँदा राहत भएकोमा अहिले उक्त रकम कटौती गरिएकोमा उनीहरू विरोध छ ।
किसानले पाइएको न्यूनतम ७५ प्रतिशतको बिमा सुविधा कायम राख्न र यसलाई अझ बढाउँदै लैजान माग गरिएको उक्त प्रेसवक्तव्यमा बिमा कटौतीका विरुद्ध आवाज उठाउन आग्रह गरिएको छ ।
प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
“किसानले गरेको खेतीपाती र पशुपालनमा विभिन्न रोगब्याधी, प्राकृतिक प्रकोप आदिले हुने क्षतिमा वित्तीय सुरक्षा प्रदान गर्न र कृषिक्षेत्रमा थप लगानीका लागि प्रोत्साहन दिन दिइँदै आएको ७५ प्रतिशत बिमामा नेपाल सरकारले कटौती गरी ५० प्रतिशतमा झारेकोमा हामी चार किसान सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनेक कारणले कृषि क्षेत्र अनाकर्षक र उपेक्षित भइरहेको र किसानको लागत पनि उठ्न नसक्ने स्थितिबाट गुज्रिरहेका बेला किसानवर्गलाई खेतीपाती र पशुपन्छी पालनमा थप प्रोत्साहन र राहत दिने कदम चाल्नुपर्ने र चालिएका कदमलाई अझ उन्नत बनाउनुपर्ने बेलामा बिमाजस्ता कार्यक्रमले अलिकति भए पनि किसानलाई राहन हुने देखिएकोमा सरकारले यसरी हचुवा तरिकाले बिमाको रकम कटौती गरेकोमा चार किसान सङ्गठनको तर्फबाट हामी घोर विरोध जनाउँछौँ ।
किसानले पाएको न्यूनतम ७५ प्रतिशतको बिमा सुविधा कायम राख्न र यसलाई अझ बढाउँदै लैजान जोडदार माग गर्दछौँ । किसान दिदीबहिनी तथा दाजुभाइमा यो बिमा सुविधा कटौतीको विरुद्ध आवाज उठाउन र सङ्घर्षशील हुन पनि हामी आह्वान गर्दछौँ ।”