काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ ।
केसीले माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री पदमा दाबी पेस गर्नुभएको हो ।
दाबी पत्रमा ४२ सांसदको हस्ताक्षर बुझाइएको गठबन्धनका नेताहरूले बताएका छन् । जसमा माओवादी केन्द्रका १९, कांग्रेसका १८, जसपाका ३, राष्ट्रिय जनमोर्चाका १ र सूर्य चुनाव चिह्नबाट प्रदेश सभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गर्नुभएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि बुधबार प्रदेश प्रमुख शेरचनले नयाँ सरकारको दाबी पेस गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई बिहीबार दिउँसो ३ बजेसम्मको समयसीमा दिनुभएको थियो ।
कांग्रेस र माओवादी केन्द्रबीच आठ–आठ महिना मुख्यमन्त्री बन्ने सहमति भएको छ। जसअनुसार आगामी फागुन १ गतेसम्म माओवादी केन्द्रका कुलप्रसाद केसी र फागुन २ गतेदेखि बाँकी कार्यकाल कांग्रेसका वीरेन्द्रप्रसाद कनौडिया मुख्यमन्त्री बन्ने दुई दलबीच सहमति भएको छ।