काठमाडौँ । राष्ट्रियसभाबाट दुई विधेयक पारित गरिएका छन् । राष्ट्रियसभाको २०७८ साउन २७ गतेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव गर्नुभएको “रेल्वे विधेयक–२०७८” र “सार्वजनिक सेवा प्रसारण विधेयक–२०७७” सर्वसम्मतिले पारित भएका हुन् ।
सो विधेयकमाथिको छलफलका क्रममा सांसदको जवाफ दिँदै मन्त्री कार्कीले रेल सञ्चालनको कानुन अभावले विधेयक पेस गरेको बताउँदै यसले रेल्वे कानुनको अभाव हट्ने र रेल्वे सेवा विस्तारमा सहयोग पुग्ने बताउनुभयो ।
आजै बैठकले “सार्वजनिक सेवा प्रसारण विधेयक–२०७७” माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रधानमन्त्री देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री कार्कीले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
सो प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले सरकारको जनताप्रति दायित्व हुने भएकाले लोकतान्त्रिक मूल्यमान्यता र स्वतन्त्र पत्रकारिता मान्यताअनुसार नै सार्वजनिक सेवा प्रसारण विधेयक आएको बताउनुभयो ।