काठमाडौँ । कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदभार ग्रहण गर्दै अबको योजना सार्वजनिक गर्नुभएको छ । घिसिङले २०७८ साउन २७ गते पदभार ग्रहण गर्नुभएको हो ।
उहाँले जनअपेक्षानुसार प्राधिकरणको जिम्मेवारीलाई स्वीकारेको बताउँदै सोहीअनुसार नै नेपाल सरकारले जिम्मेवारी दिएको उल्लेख गर्नुभयो । कार्यकारी निर्देशक घिसिङले प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जामन्त्री पम्फा भुसालले दिएको निर्देशनअनुसार काम गर्ने स्पष्ट पार्नुभयो ।
‘केही काम तत्काल गर्नुपर्ने देखिएको छ’ अबको प्राथमिकताबारे घिसिङको भनाइ थियो– ‘त्यसमा केही दीर्घकालीन रूपमा गर्नुपर्ने छ ।’
उहाँले वितरण प्रणालीलाई अटोमेसनमा ल्याउने जानकारी दिनुभयो ।
स्मार्ट मिटर देशभर पुर्याइने बताउँदै उहाँले यो काम सुरु पनि भइसकेको जनकारी दिनुभयो ।
उहाँले आगामी योजनाको रूपमा अन्डरग्राउन्ड केबलिङलाई प्रभावकारी रूपमा अघि बढाउने, सहरलाई सुन्दर बनाउन पनि यो कामलाई अघि बढाइने बताउनुभयो ।
प्रसारण लाइनमा भएका योजनालाई तत्काल पूरा गर्ने योजना पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले अपर अरुण, तामाकोशी–५ जस्ता जलविद्युत योजनालाई अघि बढाउने तथा नेपालको लगानीमा अरू जलविद्युत योजना अघि बढाइने पनि बताउनुभयो ।