काठमाडौँ । उपत्यकामा नो हर्न अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नो हर्न अभियान प्रभावकारी बनाउन २०७८ साउन २६ गतेदेखि स्टिकर टाँस्न थालेको छ ।
उपत्यकामा २०७४ वैशाख १ गतेदेखि हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो । त्यसपछि हर्नको प्रयोगमा कमी आउनुको साथै सुरुवाती दिनमा यसको कार्यान्वयन प्रभावकारी भएको थियो । यद्यपि कोभिड–१९ का कारण पछिल्ला दिनमा क्रमशः हर्नको प्रयोगमा वृद्धि हुँदै गएकाले प्रहरीले पुन अभियान सुरु गरेको हो । महाशाखाले उक्त स्टिकर चालकले देख्ने गरी अगाडिको सिसामा टाँस गरिएको छ ।
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले उक्त अभियानलाई प्रभावकारी बनाउन आजैबाट उपत्यकाको ३८ ट्राफिक कार्यालयले एकैसाथ ५० हजार नो हर्न स्टीकर टाँस गरी अभियान सुरु गरेको जानकारी दिनुभयो । उहाँले केही समययता अनावश्यक हर्नको प्रयोगमा क्रमश वृद्धि भइरहेको महसुस गरी थप कडाइ गर्न थालिएको बताउनुभयो । (रासस)