काठमाडौँ । नेपाल टेलिकमले एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्षजस्तै टेलिकमले यस वर्षको अफरअन्तर्गत एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो ।
टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको छ, जसमा ३० दिनसम्म प्रतिदिन १०० एमबी डाटा (कुल ३० जिबी), १० मिनेट कल (टेलिकम–टेलिकम कुरा गर्न कुल ३०० मिनेट) र १० एसएमएस (कुल ३०० एसएमएस) प्राप्त हुने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो अफर भएको नयाँ सिममा बोनस अन रिचार्ज प्याकेजसमेत उपलब्ध हुने छ । सो प्याकमा रु ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधासमेत उपलब्ध हुने छ । सो सुविधा ६ महिनासम्मको रिचार्जमा उपलब्ध हुने छ । बोनसबापत यसरी प्राप्त हुने सुविधा तीन दिनभित्र प्रयोग गरिसक्नुपर्ने छ ।
एसइईका विद्यार्थीका लागि कम्पनीले निःशुल्क प्रदान गरेको वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सिमको रूपमा रूपान्तरण गरिएको सिमकार्डमा आवश्यकताबमोजिम इशिक्षा प्याकेजसमेत लिन सकिने छ ।
यसअघि इशिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समयावधिलाई थप गरी अबदेखि बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने बनाइएको छ ।
नयाँ सिम प्राप्त गरेका विद्यार्थीले सिमकार्डमा मेन ब्यालेन्सको रूपमा उपलब्ध हुने रु दशबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् । सोबाहेक ४० मिनेट टकटाइम, २० वटा एसएमएस र ६० एमबी डाटा हितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने जनाइएको छ ।
एसइई उत्तीर्ण विद्यार्थीले नयाँ सिमका लागि १० कक्षाको कुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरू परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्ने छ ।