काठमाडौँ । नेकपा (एमाले) मा अब अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने भएका छन् । एमाले स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गर्दै अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने व्यवस्था गरेको हो ।
कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाई पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।
अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था संशोधित विधानमा प्रस्ताव गरिएको कार्यालय सचिव तामाङ्ले जानकारी दिनुभयो ।
त्यसैगरी केन्द्रीय कमिटी सदस्यको सङ्ख्या पनि बढाउने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी २२५ जनाको राख्ने व्यवस्था संशोधित विधानमा गरिएको छ । पार्टीमा उपाध्यक्षको सङ्ख्या घटाउने र सचिवको सङ्ख्या बढाउने पारित विधानमा उल्लेख छ ।
त्यस्तै विधानमा प्रदेश कमिटीलाई कार्यकारिणी बनाइनेसमेत उल्लेख गरिएको कार्यालय सचिव तामाङले जानकारी दिनुभयो । स्थायी कमिटीले पारित गरेको विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।
आगामी भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशनको मिति तोकिएको छ ।
वरिष्ठ नेता माधव नेपाल पक्षले पार्टीको कुनै पनि साङ्गठानिक गतिविधि अघि नबढाउन आग्रह गरिरहेका बेला संस्थापन पक्षले विधान महाधिवेशन तयारी कामलाई तीव्रता दिएको छ ।