टोकियो । टोकियो ओलम्पिक्सको पछिल्लो पदक तालिकामा आइतबार संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ । पछिल्लो पदक तालिका अनुसार अमेरिकाले ३९ स्वर्ण, ४० रजत, ३३ कास्यसहित ११२ पदक जितेर पहिलो स्थान हाँसिल गरेको छ ।
चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक जितेको छ । त्यसैगरी आयोजक राष्ट्र जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्य पदकसहित ५८ पदक जितेर शीर्ष तेस्रो स्थानमा रहेको छ भने चौँथोमा बेलायत रहेको छ । बेलायतले २२ स्वर्ण, २१ रजत र २२ कास्य पदक हात पारेको छ ।
पदक तालिकाको यसपछिका स्थानमा रहेको रुसी ओलम्पिक कमिटी, अस्ट्रेलिया नेदरल्यान्ड र जर्मनीले क्रमशः १७ स्वर्ण, १० स्वर्ण र १० स्वर्णसहित पाँचौँ, छैटौँ र सातौँ स्थानमा आउन सफल भएका छन् । अस्ट्रेलियाले ७ रजत र २२ कास्यसहित कुल ४६ र पदक नेदरल्यान्डले १२ रजत र १४ कास्यसहित कुल ३६ पदक जितेका छन् । जर्मनीले ११ रजत र १६ कास्यसहित कुल ३७ पदक जितेको छ ।
तालिकाको दशौँ स्थानमा रहेको फ्रान्सले ९ स्वर्ण, १२ रजत र ११ कास्यसहित कुल ३२ पदक जितेको छ ।
एसियाली मुलुकमा चीन र जापानबाहेकका मुलुक पदक तालिकाको निकै पछाडि देखिएका छन् । नेपालको दक्षिणी छिमेकी भारतले एक स्वर्ण, दुई रजत र चार कास्य पदकसहित कुल ७ पदक जितेको छ ।
टोक्यो ओलिम्पिक्स गत जुलाई २३ बाट सुरु भएको थियो । ओलिम्पिक खेलअन्तर्गत जापानका ४२ खेल स्थलमा भएका ३३ खेलका लागि ३३९ प्रतिस्पर्धा तय भएका थिए ।
विश्व प्रसिद्ध फुटबलमा पुरुषतर्फ ब्राजिलले स्पेनलाई हराउँदै स्वर्ण पदक जितेको छ भने बास्केटबलमा अमेरिकाले फ्रान्सलाई हराएको छ । (रासस/एएफपी)