काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले चार लाख ८४ हजार २७८ विद्यार्थीेको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
नतिजा सार्वजनिक गर्दा बोर्डले यस वर्ष पनि कति विद्यार्थीले कुन जीपीए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन । नतिजा सार्वजानिक गर्दै परीक्षा नियन्त्रक अधिकारीले भन्नुभयो, “यस वर्ष बोर्डले कति विद्यार्थीले कुन जिपिए ल्याए भने छुट्याएनौँ, जिल्लाबाट प्रमाणीकरण भएर आएको मूल्याङ्कनको नतिजालाई नै बोर्डले प्रमाणीकरण गरेको छ ।”
विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्याङ्कन सङ्कलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो । कोरोना भाइरस सङ्क्रमण बढेपछि यस वर्ष विद्यार्थीको भौतिकरुपमा परीक्षा सञ्चालन नगरी विद्यालयको आन्तरिक मूल्याङ्नका आधारमा एसईईको नतिजा सार्वजनिक गरेको हो ।
नतिजा बोर्डको वेबसाइट, एसएमएस र आइभीआरमार्फत प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । बोर्डले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा नेपाल टेलिकमको १६००, एनसेलको, १६००, अन्य विभिन्न कम्पनीको ३४९४९, ३१००३, ३५००१ मा एसएमएस गरेर हेर्न सकिने व्यवस्था गरेको छ ।
विद्यार्थीले www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट पनि एसईईको नतिजा थाहा पाउने व्यवस्था गरेको छ । नतिजा प्रकाशन भएपछि विद्यार्थीलाई पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनःपरीक्षण गराउने र पूरक ग्रेडवृद्धि परीक्षा सञ्चालनसम्बन्धी भने नहुने भएको छ । बोर्डले व्यक्तिगत विवरणमा त्रुटि भएकाको हकमा भने ३५ दिनभित्र जिल्लास्थित शिक्षा तथा समन्वय इकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।
कक्षा १२ को परीक्षा स्थगित
राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गर्न तयारी गरेको कक्षा १२ को परीक्षा स्थगन भएको छ । परीक्षा आउन एक हप्ता बाँकी हुँदा बोर्डको आज बसेको बैठकले अन्तिम तयारी पूरा गरिसकेको परीक्षा स्थगन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो ।
कक्षा ११ को परीक्षा हाल भौतिकरूपमा होमसेन्टरमा सञ्चालन भइरहेको अवस्थामा बोर्डले कक्षा १२ को परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रक शर्माका अनुसार कक्षा ११ को परीक्षा ९० प्रतिशत सकिएको र यता कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कक्षा १२ को परीक्षा भने स्थगन गर्ने निर्णय भएको छ ।
परीक्षा कहिले कसरी सञ्चालन हुन्छ भन्नेबारेमा बोर्डको अर्को बैठकले निर्णय गरी परीक्षा सञ्चालन हुनुभन्दा १५ दिन अगाडि नै सूचना सार्वजनिक गरिने उहाँको भनाइ थियो ।
स्वाथ्यराज्यमन्त्री उमेश श्रेष्ठले कोरोना सङ्क्रमण बढ्दै गएकाले भौतिकरूपमा परीक्षा सञ्चालन नगरी आन्तरिक मूल्याङ्कनबाट गर्ने बताउनुभएको थियो । त्यसपछि स्वास्थ्य मन्त्रालयको सिफारिशमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसीएमसी०ले कोरोना सङ्क्रमण बढ्दै गएको कारण देखाउँदै तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेपछि बोर्डले परीक्षा स्थगन गर्ने निर्णय गरेको हो ।
विद्यार्थी सङ्गठन र अभिभावकले सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिडविरुद्धको खोपको व्यवस्थापन गर्न, व्यवस्थापन गर्न नसक्ने भए स्थगन गर्न माग गर्दै आएका थिए । कक्षा १२ मा तीन लाख ७२ हजार ३४८ परीक्षार्थीका लागि बोर्डले चार हजार ३१० परीक्षा केन्द्र निर्धारण गर्दै होम सेन्टरमा सुरक्षित भएर परीक्षा सञ्चालन गर्न सकिने गरी तयारी अन्तिम चरणमा पु¥याएको बताउँदै आएको थियो । परीक्षा बोर्डले यसपटक १०० पूर्णाङ्ककै परीक्षा गराउने गरी भौतिक दूरी कायम गर्दै एउटा कक्षामा २५ जनामात्रै विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।
बोर्डले परीक्षाको सबै तयारी पूरा गरिसकेको र परीक्षाअगावै सबै परीक्षार्थीलाई खोपको व्यवस्थापन गरी परीक्षा केन्द्रहरूमा हेल्थ डेस्कको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका थिए ।
बोर्डले सबै तयारी पूरा गरेको, विद्यार्थी पनि सुरक्षितरूपमा परीक्षा दिन तयार भएको र कक्षा ११ को परीक्षा भौतिकरूपमा होम सेन्टरमा अहिले पनि चलिरहेको बताएको छ ।
बोर्डले गत वर्ष परीक्षा समय र अङ्कभार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्याङ्कनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षा भएको थियो । यस वर्ष परीक्षा अब कसरी र कहिले हुन्छ भन्ने अन्योल शुरु भएको छ ।