काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले तत्कालका लागि गणतन्त्र र धर्म निरपेक्षताको विकल्प नभएको बताउनुभएको छ । २०६२–६३ को आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नुको विकल्प नभएको उहाँको तर्क थियो ।
अखिल नेपाल जनजाति सम्मेलन लुम्बिनी प्रदेश समितिद्वारा सत्ताइसौँ विश्व आदिवासी दिवस (अगस्त ९) को सन्दर्भ पारेर आयोजित भर्चुअल कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘काङ्ग्रेसलाई हामीले नचिनेको हो र ?’ अध्यक्ष केसीले भन्नुभयो– ‘ओलीको कदमले गर्दा हाम्रासामु काङ्ग्रेससित सहकार्य गर्नुपर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको हो ।’
उहाँले काङ्ग्रेससितको तात्कालिक राजनीतिक विषयमा सहकार्य कुनै नयाँ विषय नभएको बताउनुभयो ।
‘२०४६ सालको आन्दोलन सँगै लडेका थियौँ, २०६२–६३ सालको जनान्दोलनमा पनि सँगै थियौँ’ उहाँले भन्नुभयो– ‘२०६२–६३ को आन्दोलनमा त हामीले मधेसवादीसित पनि सहकार्य गरेका थियौँ ।’
अध्यक्ष केसीले दुस्मनसित एकैचरणमा दुईपटक सङ्घर्ष हुने, तर एक पटक एकता हुने, त्यसका विपरीत मित्रशक्तिसित भने दुई पटक एकता हुने, एक पटक सङ्घर्ष हुने स्थिति रहने बताउनुभयो ।

प्रतिगमन विरोधी आन्दोलनमा राजमोको नेतृत्व
उहाँले ओलीको प्रतिगमनका विरुद्ध सङ्घर्षमा राष्ट्रिय जनमोर्चाले नेतृत्व गरेको दाबी गर्नुभयो ।
‘हामीले गत २०७७ पुस ६ गते नै प्रतिगमनका विरुद्ध सहकार्यको प्रस्ताव गरेका थियौँ’ उहाँले भन्नुभयो– ‘त्यतिखेर काङ्ग्रेस र माधव नेपाल पक्षीय एमालेले हाम्रो प्रस्तावलाई गम्भीरतापूर्वक लिएन । अन्ततः हाम्रो प्रस्ताव उनीहरूले स्वीकारे ।’
राजमो अध्यक्ष केसीको निष्कर्ष थियो– ‘हाम्रो प्रस्तावअनुसार नै प्रतिगमन विरोधी संयुक्त आन्दोलन सञ्चालन भई सफलतासमेत प्राप्त भएकाले त्यो आन्दोलनको वैचारिक नेतृत्व राजमोको थियो ।’
अराजकको परिणाम ओलीको जस्तै हुने
मन्तव्यको क्रममा उहाँले केपी ओलीले २०७२ सालको संविधान ध्वस्त गरेको बताउनुभयो ।
‘ओलीले जननिर्वाचित प्रतिनिधि सभालाई निजी थोत्रो गोठलाई झैँ भत्काए’ उहाँले भन्नुभयो– ‘तर नेपाली जनताको आन्दोलनले ओलीलाई सत्ताबाट मिल्काइदिए ।’
‘संसद कसेको निजी गोठ होइन, जो चुहिने भयो कि भत्काइहाल्ने’ अध्यक्ष केसीले भन्नुभयो ।
उहाँले संविधान भत्काउने, संसद भत्काउने र पार्टीमा अराजकता फैलाउने जस्ता काम गरेकाले दुईतिहाइ बहुमतको नेतृत्व गरेका प्रधानमन्त्री ओलीको पतन भएको बताउनुभयो ।
ओलीको शैली डोकोमा आश्वासन बाँड्ने, मानोले बाड्ने
उहाँले ओलीको शैली डोकोले आश्वासन बाँड्ने, तर दिने बेलामा मानोले पनि नदिने रहेको बताउनुभयो ।
‘ओलीको व्यवहार हेर्नुस् त’ उहाँले भन्नुभयो– ‘जनतालाई कोरोना परीक्षण गर्दा पैसा छैन भन्ने, तर दुई करोड खर्चेर पशुपतिमा जलाहारी राख्ने ।’
राजमो नेता केसीले ओलीले आश्वासन दिन केही बाँकी नराखेको, उद्घाटनको बाढी नै ल्याएको तर, व्यवहारमा भने खोप माग्दा चुनावमा लैजान खोज्ने रहेको बताउनुभयो ।
उहाँले प्रश्न गर्नुभयो– ‘ओलीले भने झैँ वैशाखमा चुनाव भएको भए कति नेपाली जनता मर्ने थिए ?’
जनजातिभित्र पनि शोषक र शासित
अध्यक्ष केसीले आदिवासी जनजातिभित्र पनि शोषक र शोषित दुवै रहेको बताउनुभयो ।
‘शोषक र शोषित सबै जातिमा छन्’ उहाँले भन्नुभयो– ‘सबै जातिका शोषक जनताको शोषण गर्ने मामिलामा एकैठाउँमा मिल्छन् ।’
‘त्यसकारण आदिवासी जनजातिको समस्या देख्दा जातीयजस्तो भए पनि यथार्थमा वर्गीय समस्या हो’ उहाँको भनाइ थियो ।
उहाँले शासकवर्गले केही टाँठाबाधा जनजाति, दलितलाई सत्तामा पुर्याएर आफूहरूले कसैको शोषण नगरेको भन्ने पार्न खोजे पनि यो व्यवस्थामा आम जनजाति र दलितको समस्या समाधान नहुने बताउनुभयो ।
‘उनीहरूको वास्तविक समस्याको समाधान नयाँ जनवादी क्रान्ति, समाजवादी क्रान्तिपछि नै हुन्छ’ उहाँले ठोकुवा गर्नुभयो ।
जनजाति र आदिवासी फरक : बुढाथोकी
कार्यक्रममा सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले सम्बोधन गर्दै नेपालका आदिवासी जनजातिको समस्या समाधानको पक्षमा अखिल नेपाल जनजाति सम्मेलन लगातार सङ्घर्ष गरिरहेको बताउनुभयो ।

नेपालमा जनजाति र आदिवासीलाई एकर्काको पर्याय मान्ने गरिए पनि यी दुईका माझमा प्रशस्त भिन्नता रहेको बताउनुभयो ।
जनजाति सम्मेलनले गत कालदेखि नै विश्व आदिवासी दिवस मनाउँदै आएको बताउँदै उहाँले यस पटक कोरोना महामारीका कारण भर्चुअल रूपमा मनाउनुपर्ने बाध्यता रहेको पनि स्मरण गर्नुभयो ।
कार्यक्रममा जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर जिएम र अखिल नेपाल प्रगतिशील पत्रकार सङ्घका कोषाध्यष प्रकाश थापामगरले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, महासचिव अमरध्वज राना, केन्द्रीय सदस्यहरू नरबहादुर घर्ती र अर्जुन थापा, केन्द्रीय सल्लाहकार मानबहादुर सिंजापति राजमो नेता सुरेश थापा, राजमो लुम्बिनी प्रदेशका सचिव सोमकुमार कार्कीलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता लुम्बिनी प्रदेश अध्यक्ष उषा पुनले, सञ्चालन प्रदेश सचिव तिलक गाहाले र स्वागत मन्तव्य प्रदेश समितिकै गुमानसिंह पुनले गर्नुभएको थियो ।