काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सांसद विमला वलीलाई अपरहण गरी बन्धक बनाएको घटनाप्रति आपत्ति जनाएको छ ।
माओवादी केन्द्रको शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले सो घटनालाई ‘निकृष्ट र राजनीतिको अपराधिकरण’ भन्दै निन्दा गरेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीका लुम्बिनी प्रदेश सांसद विमला वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएको घटनाको भर्त्सना गर्नुभएको हो ।
सांसद वलीले हिजो (बिहीबार) पत्रकार सम्मेलन गरी आफूलाई अपहरण गरी तीन दिनसम्म मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइएको र ट्वाइलेटको चप्पल लगाएर भागेको बताउनुभएको थियो ।
यस्तै, सत्ता साझेदार नेकपा (माओवादी केन्द)ले सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरेको छ । तर बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा भने छलफल नगरिएको प्रवक्ता श्रेष्ठले बताउनु भयो ।
उहाँले गठबन्धनभित्र मन्त्रालयको टुंगो नै लगाउने काम नभएकाले पार्टी भित्रबाट कुन व्यक्तिलाई पठाउने भन्ने विषयमा छलफल नभएको तर्क गर्नु भयो ।
बैठकले सत्तारुढ गठबन्धन कार्य दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेकोमा धन्यवाद दिँदै छिट्टै सार्वजनिक गर्न पनि आग्रह गरेको छ । त्यसैगरी माओवादी केन्द्रले सुकुम्बासी, भूमिहिन किसान, दलित, अव्यवस्थित बसोबासको समस्या समाधान तथा कार्यान्वयन गर्न अभिलम्ब उच्चस्तरीय आयोग गठन गर्न पनि सरकारलाई अनुरोध गरेको छ ।