काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई आत्मालोचना गर्न माग गरेको छ ।
विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत भएको जनाउँदै एकताबद्ध पार्टीका लागि नेतृत्वले आत्मालोचना गर्नुपर्ने उनीहरूको निष्कर्ष निकालेका हुन् ।
२०७८ साउन २१ गतेदेखि काठमाडौँमा जारी सो पक्षका केन्द्रीय सदस्यले पार्टीभित्र आत्मसम्मान, सहअस्तित्व र सामूहिक भावनाको विकास नहुँदा समस्या उत्पन्न भएकाले विवाद मिलाउन सक्रिय नेताले ती सन्दर्भलाई ख्याल गरेर समझदारी जुटाउनुपर्ने आवाज उठेको हो ।
गत असार २८ गते पार्टीको विवाद समस्या समाधान कार्यदलले दिएको १० बुँदे सहमतिको प्रस्ताव मात्रै निकासका लागि पर्याप्त नभएकाले थप गृहकार्य गरेर पार्टीको लोकप्रिय छविलाई जनतासमक्ष पुनःस्थापित गर्न लाग्नुपर्नेमा पनि जोड दिइएको छ ।
साथै अध्यक्ष ओलीले स्थानीय तहस्तरका पार्टीका अधिवेशन र विधान अधिवेशन तोक्ने निर्णय गरेर आफूखुशी अघि बढेकाले एकताको प्रक्रिया चलिरहेका बेला दुवै पक्षका समानान्तर गतिविधि हुन नहुने बैठकमा प्रस्ताव गरिएको छ ।