काठमाडौँ । नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको पूर्ण कदको शालिक निर्माण गरिने भएको छ ।
बस्न्यातले वीरगति प्राप्त गरेको शङ्करापुर नगरपालिका–३ स्थित जहरसिंहपौवामा निर्माण हुन लागेको शालिकको आज प्रधान सेनापति पूर्णचन्द्र थापाले शिलान्यास गर्नुभयो ।
सो स्थानमा उहाँको पूर्णकदको शालिकसँगै एकीकरण सङ्ग्रहालय र उद्यानसमेत निर्माण हुने भएको छ । शालिक, सङ्ग्रहालय र उद्यान निर्माणका लागि वडा कार्यालय साढे दुई रोपनी जग्गा उपलब्ध गराएको छ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधान सेनापति थापाले इतिहास बिर्सिए धर्म, संस्कृति र संस्कार सबै बिर्सने भएकाले नेपाल एकीकरण मार्गलाई संरक्षण गर्ने अभियान सुरु गरिएको बताउनुभयो । गोरखाबाट काठमाडौँसम्मको एकीकरण एवं यस वरपर रहेका ऐतिहासिक किल्ला, गढीको संरक्षण गरेर सङ्ग्रहालय, उद्यान, शालिक, स्तम्भजस्ता स्थल निर्माण गर्ने कामलाई नेपाली सेनाले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख सुवर्ण श्रेष्ठ, नगरपालिकाका शिक्षा शाखाका पूर्वप्रमुख बोधराज निरौला, वडाध्यक्ष सन्तबहादुर वाइबा, पूर्वजर्नेल डा. प्रेमसिंह बस्नेत, पूर्व राजदूत डा निरञ्जनमानसिंह बस्नेत र वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतले पनि मन्तव्य राख्नुभएको थियो ।