काठमाडौँ । लुम्बिनी प्रदेशसभाकी सांसद बिमलाकुमारी खत्रीलाई नेकपा (एमाले) ले अपहरण गरेको खुलेको छ ।
हाल आफूलाई नेकपा (माओवादी–केन्द्र) की सांसद घोषणा गरेकी खत्रीले २०७८ साउन २१ गते प्रेसवक्तव्य जारी गर्दै आफूलाई अपहरण गरिएको दावी गर्नुभएको हो ।
२०७६ मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट निर्वाचित सांसद खत्रीले वक्तव्यमा साउन १५ गते उपचारका लागि नेपालगन्जसम्म पुर्याइइदिने नाममा अपहरण गरिएको दाबी गर्नुभएको छ । लगातार नेकपा (एमाले) मा प्रवेश गर्न दबाब दिएको बताउँदै उहाँले आफूलाई नेपालगञ्जबाट सिधै बुटवल मुख्यमन्त्रीको कार्यालयमा लगातार तीन दिन बन्धक बनाई राखिएको दाबी गर्नुभएको छ ।
“राजनीति र सरकारको खेलमा यस्तो घटना मैले पहिलो पटक बेहोर्नुपर्यो । नेकपा (एमाले) ले यस्तो अराजनैतिक र अनैतिक काम गर्ला भनेर सोचेकै थिएन” सांसद खत्रीले प्रेसवक्तव्यमा भन्नुभएको थियो– “ म मेरो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी–केन्द्र) प्रति पूर्ण प्रतिबद्ध छु र थप बलियो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । मेरो नामबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश दलले फैलाएको भ्रम र जबरजस्ती गरिएको कागज र हस्ताक्षर झुटो हुन भनेर जानकारी गराउँछु ।”
यस्तो छ, सांसद खत्रीको प्रेसवक्तव्यको पूर्ण पाठ
“म लुम्बिनी प्रदेशसभा सदस्य बिमलाकुमारी खत्रीको सवालमा गएको साउन १५ गतेदेखि आजसम्म आमसञ्चार माध्यम र सामाजिक सन्जालहरूमा मेरो राजनीतिक जीवनलाई असर गर्ने भ्रम र केही सत्य कुरा आएका छन् । म यसै पत्रकार सम्मेलन मार्फत घटना विवरणसहित स्पष्ट पार्न चाहन्छु ।
१. म बिमलाकुमारी खत्री २०७६ मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवार भई निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य हुँ । नेकपा (माओवादी–केन्द्र) र नेकपा (एमाले) एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जुन म निवार्चित भएको दलको सवालमा २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलानुसार म निर्वाचित भएको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भई पुनः पूर्ववत अवस्थामा नेकपा (माओवादी–केन्द्र) र नेकपा (एमाले) कायम भएको अवस्थामा म निर्वाचित भएको दल नरहेपछि स्वतन्त्र हैसियतमा मैले नेकपा (माओवादी–केन्द्र) रोजी सोही दलको लुम्बिनी प्रदेशसभा दल सदस्यता २०७८ वैशाख १७ गते प्राप्त गरी वैशाख १९ गते पत्रकार सम्मेलन गरी घोषणा गरेको विषय स्मरण गराउन चाहन्छु ।
२. म नेपाल कम्युनिस्ट पार्टी (माओवादी–केन्द्र) लुम्बिनी प्रदेशसभा संसदीय दल सदस्य भइसकेपछि नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलका नेताहरूबाट एमाले पार्टीमा आउनुप¥यो भनेर बारम्बार दबाब आउन थाल्यो । यो दबाब निरन्तर जारी रहयो । मैले त्यसलाई निरन्तर इन्कार गरिरहेँ । यही क्रममा २०७८ साउन १५ गते दिनको ११ बजे म उपचारका लागि नेपालगन्ज हिड्न लागेको समयमा नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावत मेरो घर तुल्सीपुरमा आउनुभयो । फेरि उहि दबाब दिन थाल्नुभयो । मैले फेरि पनि इन्कार गरेँ । म बिरामी छु उपचारको लागि नेपालगन्ज जाँदै छु, जान दिनुस् भन्दा प्रमुख सचेतक भूमिश्वर ढकालले हामी पनि नेपालगन्ज जाने हो, सँगै जाऔँ, हामी नै पुराइदिन्छौँ भन्नुभयो । उहाँजस्तो जिम्मेवार नेताले भनेपछि मैले विश्वास गरी गाडीमा बसेँ । गाडी तुल्सीपुरबाट अमिलिया आएर उहाँहरू खाना खानुभयो । गाडीमा बसियो । तर गाडी नेपालगन्जतिर जानुपर्नेमा एक्कासि बुटवलतिर मोडियो । तत्कालै मैले प्रतिवाद गर्दै भनेँ– यता कहाँ जाने हो ? गाडी बुटवलतिर हुइँकिरहयो, मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिहँदा उहाँहरूले भन्नुभयो– एकपटक मुख्यमन्त्रीज्यूलाई भेट्नुप¥यो भनेर गाडी नरोकी एकैचोटि बुटवल मुख्यमन्त्री निवासमा पु¥याइयो ।
३. मुख्मन्त्री शङ्कर पोखरेलसँग भेट भई छलफल सुरु भयो । फेरि उही दबाब सुरु भयो । नेकपा (एमाले) मा आउनुप¥यो† पहिले हाम्रो गल्ती भयो† अब त्यस्तो हुँदैन† पार्टीमा आउनुस्† मन्त्री बन्नुस् भनेर विभिन्न प्रलोभन देखाइयो । मैले निरन्तर इन्कार गरिरहेँ । साउन १६, १७, १८ सम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दबाब दिइरहियो । मैले इन्कारी जारी राखिरहेँ । साउन १८ गते विज्ञप्ती लेखेर मलाई पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइयो । यति मात्र नभई अर्को दुईतीन वटा माइन्युटजस्ता रजिस्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइयो । यति घटना गराइसकेपछि अब मलाई घर जान दिन्छन् र बाहिर गएर यो जबरजस्तीको खण्डन गर्छ भनेर सोचेको थिएँ । तर अझ कडाइका साथ साउन १९ गते देखि मुख्यमन्त्री निवासभित्रै राखियो । २० गते बिहान मलाई असह्य मानसिक पीडा भयो । यहाँबाट जसरी पनि निस्कनुपर्छ भनेर सोच बनाएर समय र परिस्थिति हेरी म आज जसरी पनि निस्कनुपर्छ भनेर तयारी गरेँ ।
४. दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिस्ट पार्टी (माओवादी–केन्द्र) संसदीय दलको कार्यालयमा पुगेँ, जहाँ मेरो आफ्नै खुला र स्वतन्त्र संसारमा पुगेको अनुभूति गरेँ । त्यसबेला म मानसिक रूपमा निकै थकित भएकाले मुक्त भएकै दिन साउन २० गते नै सार्वजनिक हुन सकिनँ । आज तपाईं सञ्चारकर्मीमार्फत जनतासामु उपस्थित भएको छु ।
५. राजनीति र सरकारको खेलमा यस्तो घटना मैले पहिलो पटक बेहोर्नुप¥यो । नेकपा (एमाले) ले यस्तो अराजनैतिक र अनैतिक काम गर्ला भनेर सोचेकै थिएन । मेरो विचार राजनीति उहाँहरूको भन्दा फरक भए पनि मैले उहाँहरूलाई अभिभावककै रूपमा मान्ने र बुझ्ने गर्दथे । तर त्यस्तो व्यवहार पाइएन ।
६. आदरणीय सञ्चारकर्मी मित्र र आम जनसमुदाय, यस घटनाबाट मलाई गम्भीर शिक्षा प्राप्त भएको छ र मलाई यस घटनाले अझै परिपक्व बनाएको छ । म मेरो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी–केन्द्र) प्रति पूर्ण प्रतिबद्ध छु र थप बलियो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । मेरो नामबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश दलले फैलाएको भ्रम र जबरजस्ती गरिएको कागज र हस्ताक्षर झुटो हुन भनेर जानकारी गराउँछु । अन्त्यमा, मलाई निर्वाचित गर्ने जनता, उद्धार गर्ने नेता कार्यकर्ता र सहयोगी सबैमा हार्दिक आभार प्रकट गर्दछु ।”