कावासोती । नवलपुरका सात क्रियाशील राजनीतिक दलले १३ बुँदे कार्ययोजना प्रस्तुत गरेका छन् ।
संयुक्त गठबन्धनको औचित्य र महत्त्व, सरकारी कार्यालय व्यवस्थापन तथा नमूना सदरमुकाम, रुग्ण तथा निर्माणधीन उद्योग, कालीगण्डकी डाइभर्सन र विकास निर्माणको विषयमा छलफल गर्दै उनीहरूले १३ बुँदे कार्ययोजना निश्चित गरेका हुन् ।
सातै दलभित्र जारी २०७८ साउन १७ गते जारी गरिएको परिपत्रमा जिल्लास्तरीय खेलकुद रङ्गशाला निर्माण गर्ने, नमुना सदरमुकामका लागि डिपिआर अघि बढाउने, नारायणी तटबन्ध निर्माण गर्ने, सडक निर्माण र वन्यजन्तुबाट समुदायको रक्षाका लागि तारबार, पर्खाल र पिसपार्क बनाउने, मौलाकालिकादेखि धौवादीदेखि पाल्पा मित्याल जोड्ने पर्यटकीय मार्ग निर्माण गर्ने, चुरे र महाभारतबाट उत्पत्ति भई नारायणी नदीमा जोडिने ठाडा खोलामा तटबन्ध निर्माण गर्ने तथा नदीजन्य श्रोतको व्यवस्थापन गर्ने, जिल्लामा डोमेस्टिक विमानस्थलका लागि अनुरोध गर्ने र अदुवा प्रसोधन केन्द्र निर्माणका लागि पहल गर्ने योजना उल्लेख छ ।
त्यसैगरी, परिपत्रमा मध्यविन्दु पार्क निर्माणमा पहल गर्ने, त्रिवेणी, दुम्किबास, झ्यालबास हुँदै पोखरा र उत्तरी नाका कोरला जोड्ने प्रदेशस्तरीय सडकमार्ग सञ्चालन गर्ने, भृकुटी कागज कारखाना र धोवादी फलामखानीलगायतका रुग्ण उद्योग सञ्चालन गर्ने, जिल्ला सदरमुकामदेखि पहाडी भेगका पालिका जोड्न लिङ्करोड निर्माण गर्ने, जिल्लामा प्राविधिक विश्वविद्यालय सञ्चालन गर्ने र प्राकृतिक चिकित्सालयलाई प्रदेशस्तरीय गौरवपूर्ण योजनामा समावेश गर्ने योजना पनि अघि सारेका छन् ।
परिपत्रमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष दीपक पाण्डे, नेपाली काङ्ग्रेसका सचिव बालकृष्ण घिमिरे, नेकपा (माओवादी–केन्द्र) का सचिव मित्रशरण शर्मा, नेकपा (एमाले) का अध्यक्ष शालिकराम भट्टराई, जनता–समाजवादी पार्टीका अध्यक्ष डिबी गुरुङ, विवेकशील साझा पार्टीका प्रदेश समिति सदस्य रामप्रसाद चापागाई र देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष पिताम्बर तिवारीको हस्ताक्षर रहेको छ ।
