काठमाडौं । युवालाई दाम्लोले बाँधेर कुट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् ।
वडाध्यक्ष नेपालीलाई पक्राउ गरेर सदरमुकाम ल्याइएको जाजरकोट प्रहरीले जनाएको छ ।
वडाध्यक्षले कुटपिट गरेको भिडिओ सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल बनेपछि त्यसैको आधारमा प्रहरीले पक्राउ गरेको हो । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीले १५ गते ती युवालाई कुटपिट गरेका थिए। कुटपिटपछि उनले प्रहरीको रोहबरमा आमाको जिम्मा लगाएको कागजात समेत गराएका थिए।
वडाध्यक्ष नेपालीले ती युवाले जाँडरक्सी खाएर वडा कार्यालयमा आएर ढुंगा प्रहार गरी केही मान्छेलाई घाइते बनाएको र अपशब्द बोलेकाले आफूले ढुंगा खोसेर फालेको दाबी गरेका थिए । तर भिडिओमा उनले निर्घात कुटपिट गरेको देखिन्छ ।
घटनाको चौतर्फी विरोध भएपछि प्रहरीले कारबाही अगाडि बढाएको हो । वडाध्यक्ष नेपालीसहित पीडित सर्ते नेपाली भन्ने नवीन परियारलाई पनि झिकाइएको जाजरकोट प्रहरीले जनाएको छ ।
वडाअध्यक्षद्वारा वडा कार्यालयमै डोरीले बाँधेर युवकमाथि कुटपिट