काठमाडौं । अखिल नेपाल महिला संघका नेता विष्णु ओली गम्भीर बिरामी पर्नुभएको छ । अनेमसंघ काठमाडौं महानगर सदस्य ओलीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उहाँलाई आईसीयूमा सार्ने तयारी गरिएको छ ।
हाल उहाँको काठमाडौंको वीर अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने चिकित्सकको सल्लाहबमोजिम आज (बिहीबार) मेडिसिटी अस्पताल सार्ने तयारी गरिएको हो ।
वीर अस्पतालमा बिरामीको चापका कारण आईसीयू पाउन नसकेपछि चिकित्सकको सल्लाह अनुसार मेडिसिटी लैजान लागिएको उहाँका पति एवम् नेपाल कम्युनिष्ट पार्टी (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले जानकारी दिनुभयो ।
महिला नेता ओलीलाई उच्च ज्वरो तथा निमोनियाको समस्या भएको छ । लगातार अक्सिजनको कमी हुन थालेपछि उहाँको अवस्था गम्भीर बनेको हो ।
केही दिनअघिदेखि ज्वरो र जीउ दुख्ने समस्या भएपछि उहाँको साउन १५ गते ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो । त्यहाँ कोरोना नेगेटिभ आपछि पुनः मोडेल अस्पतालमा एन्टिजेन परीक्षण गरियो । दुवै परीक्षणमा कोरोना नेगेटिभ आएको छ ।
कोरोना नदेखिए तापनि स्वास्थ्यमा समस्या भएका कारण साउन १७ गते वीर अस्पतालमा भर्ना गरी उपचार गराइएको थियो । स्वास्थ्य अवस्था थप जटिल बन्दै जान थालेपछि उहाँलाई आईसीयूमा सार्न लागिएको हो ।