बुटवल । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सांसद तारा जिसीले लुम्बिनी सरकार अल्पमतमा परिसकेको बताउनुभएको छ । रिपोटर्स क्लब लुम्बिनी प्रदेश शाखाले बुधबार बुटवलमा आयोजना गरेको प्रदेश संसदीय दलका सचेतकहरूको संयुक्त साक्षात्कारमा बोल्दै उहाँले शंकर पोखरेल नेतृत्वको सरकार अवैध भएको दाबी गर्नुभयो ।
पत्रकारहरूको प्रश्नको जवाफ दिँदै जिसीले प्रदेश सरकार अल्पमतमा रहेको असंवैधानिक सरकार हो भन्दै पटक पटक अविश्वास प्रस्तावको सामना गर्नबाट बच्ने र सदनमा पेश गरेको बजेटलाई प्रक्रियामा लैजानुको सट्टा सदन वहिस्कार गरेर सत्तापक्ष नै हिँड्ने यो दुनियाँमा नभएको चर्तीकला देखाएको भन्नुभयो ।
‘सत्ता जोगाउन गठबन्धनका माननीयहरूलाई अपहरण गरेर राखेको, पैसा र पदको प्रलोभन दिएको सर्वत्र चर्चा भैरहेको छ । यो सरकारले कस्तो संस्कार दिन खोजेको हो ?’ भनी प्रश्न गर्नुभयो ।
उहाँले सरकार निर्माण र सहभागितामा आफ्नो पार्टीको प्राथमिकता नभएको पनि स्पष्ट पार्नुभयो । नेपाली जनताको ६०–७० वर्षको संघर्षबाट प्राप्त संविधान, गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता र समावेशी जस्ता उपलब्धिहरूको रक्षाको प्रश्न राजमोको प्राथमिकता भएको जिसीले बताउनुभयो ।
सांसद जिसीले केन्द्रमा जसरी ओली सरकारबाट संघर्षका उपलब्धिहरूलाई धरापमा पार्दै समाप्त पार्ने असफल प्रयास भयो, त्यसैको हुबहु प्रतिगमनको पक्षमा लुम्बिनी सरकार रहेकोले यो सरकारको विस्थापन आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा सत्तापक्षका एमालेका प्रमुख सचेतक भुमिश्वर ढकाल, माओवादी केन्द्रका प्रमुख सचेतक फखरूद्दीन खान र जसपाका दल नेता सहसराम यादवले पत्रकारका जिज्ञासाहरूको उत्तर दिनुभएको थियो ।
लुम्बिनी सरकार विरूद्द साउन १९ गते राजमो सहितका विपक्षी गठबन्धनले तेस्रोपटक अविश्वासको प्रस्ताव विधिवत रूपमा दर्ता गरेपछि राजनैतिक चासो बढेर गएको छ।