काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले अर्को उपयुक्त ठाउँमा जिम्मेवारी दिएमा आफू राजीनामा दिन तयार रहेको बताउनुभएको छ ।
बुधबार पत्रकार सम्मेलन गरेर उहाँले उपयुक्त विकल्प नदिई प्राधिकरणबाट हटाए अदालत जाने चेतावनी दिनुभएको छ । यद्यपि उहाँले राजीनामा दिन निर्देशन नआएको बताउनुभयो ।
‘विकल्प दिए अदालत जान्न । अन्याय भए त अदालत जानैपर्छ’ उहाँले भन्नुभयो– ‘मलाई यो चाहिन्छ भन्ने छैन । सरकारसँग थुप्रै विकल्प छन् ।’
शाक्यले आफूले राम्रो काम गरेको दाबी गर्दै आफ्नो कामबाट सन्तुष्ट रहेको बताउनुभयो ।
‘मेलै गर्न सक्ने काम प्राधिकरणमा गरेको छु । आफ्नो काममा सन्तुष्ट छु’ उहाँले भन्नुभयो ।
सरकारले शाक्यलाई हटाएर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः प्राधिकरणमा ल्याउने तयारी गरेको छ । मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जामन्त्रीलाई शाक्यको राजीनामा माग्न निर्देशन दिएको सार्वजनिक भएको थियो ।