काठमाडौं । कर्णाली प्रदेशका चार एमाले सांसदले पद गुमाएका छन् । प्रदेश सभामा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई मत दिएका एमालेका चार सांसदको पद सर्वोच्च अदालतको आदेशले गएको हो।
सर्वोच्चको यो आदेशसँगै कर्णालीमा एमालेका प्रदेश सांसदहरू अमरबहादुर थापा, कुर्मराज शाही, प्रकाश ज्वाला र नन्दसिंह बुढाको पद गएको हो । फ्लोर क्रस गरेपछि एमालेले उनीहरुलाई कारबाही गरेको थियो । तर कारबाहीविरुद्ध अदालत गएका सांसदको पद सर्वोच्चले अन्तरिम आदेश दिएर जोगाइदिएको थियो ।
अदालतको सो निर्णयविरुद्ध एमाले भ्याकेटको निवेदन दर्ता गरेको थियो । सोही निवेदनमाथि आज भएको सुनुवाइका क्रममा सर्वोच्चले एमालेले गरेको कारबाहीलाई वैध ठहराएको हो ।
गत वैशाख ३ गते संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो।
तर यी चार सांसदले शाहीको पक्षमा मतदान गरेपछि पार्टीले कारबाहीको निर्णय गरेको थियो । एमालेले कारबाही गरेका चार सांसद वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा लागेका नेता हुन् ।