काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइन तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा महाकाली नदीमा खसेर नेपाली युवा बेपत्ता भएको घटनाबारे बोल्न इन्कार गर्नुभएको छ ।
सांसदका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले घटना दुःखद भएको र यसको छानबिन भइरहेको भन्दै भारतीय संलग्नताबारे मौनता साँध्नुभएको हो ।
बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानबिन समितिको प्रतिवेदनअनुसार सरकारले आवश्यक निर्णय लिने उहाँको भनाइ छ । गृहमन्त्री खाणले यस घटनाको सम्बन्धमा छानबिन समिति गठन गरिसकिएको जानकारी दिँदै छानबिन समितिको प्रतिवेदन आउनुअघि सरकारले कुनै राय दिन नमिल्ने बताउनुभयो ।
उहाँले छानबिन समितिको प्रतिवेदनको आधारमा सरकार जुनसुकै प्रकारको निर्णय लिने उहाँले बताउनुभयो । प्रतिवेदन प्राप्त गरेपछि नै सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो– ‘हामी आफैँले छानबिन समिति बनाइरहेको अवस्थामा छानबिनमा प्रभाव पार्नेगरी हामीले आफ्नो कुनै राय दिन मिलेन । छानबिनबाट प्रतिवेदन आइसकेपछि घटनाको सत्यतथ्य प्रतिवेदन आइसकेपछि त्यो प्रतिवेदनमा उल्लेख भएका कुराका लागि हामी जुनसुकै अडान लिन पनि तयार छौँ ।’
उहाँले साउन १५ गते व्यास गाउँपालिका वडा नं. २ बस्ने जयसिंह धामीको तुइन तर्ने क्रममा महाकाली नदीमा झरी बेपत्ता भएको घटना दुखद र संवेदनशील रहेको बताउनुभयो । उहाँले सोही दिन गृहमन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट उक्त घटनाको सम्बन्धमा बास्तविक सत्यतथ्य छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल गण ४४, प्रहरी नायब उपरिक्षक विजयसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरिक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहित ३ जनाको टोलीले स्थलगत छानविनको लागि घटनास्थलमा खटिएको बताउनुभयो ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई उक्त घटनाको सम्बन्धमा ध्यानाकर्षण गराउँदै पत्राचार गरेको पनि उहाँले जानकारी दिनुभयो । जयसिंह धामीभन्दा अगाडि उक्त स्थानको तुइन तरी भारततर्फ पुगेका बहादुरसिंह धामी, अमरसिंह धामी, गौरसिंह धामी र मणिराम सिंह धामीसँग सोधपुछ भइरहेको छ भन्दै तुइन तर्न बाँकी अनिता धामी, विक्रम राम कोली र कल्याण धामीलाई बुझ्नको लागि जिल्ला सदरमुकाम बोलाइएको सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षाका पाँच वटा बेसबाट खोज तलासको काम भइरहेको र बैतडी र कञ्चनपुर जिल्लाको स्थानीय तहबाट पनि खोज तलासमा समन्वय गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
एवम् प्रकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीसमेत पाँच जना रहने गरी स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गरी घटनास्थलतर्फ पठाइसकिएको पनि उहाँले बताउनुभयो ।