काठमाडौं । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । प्रधानमन्त्री पदमा नियुक्त भएको दुई सातापछि देउवालाई चिनियाँ समकक्षीबाट बधाई आएको हो ।
बुधबार प्रधानमन्त्री लीले बधाई सन्देश पठाएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिनुभएको छ । चिनियाँ प्रधानमन्त्रीले पठाएको बधाई सन्देशमा मिलेर काम गर्न इच्छुक रहेको राजदूत होउले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
‘प्रधानमन्त्री ली खछ्याङले उनी आफ्नो समकक्षीसँग दुवै देशबीच रहेको रणनीतिक साझेदारी नयाँ उचाईमा पुर्याउन मिलेर काम गर्न चाहेको बताएका छन्’ राजदूतले ट्विटमा लेख्नुभएको छ ।
कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँले साउन ३ गते संसदबाट विश्वासको मत लिनुभएको थियो ।
सन्देशमा खछ्याङले कोरोना महामारीको चुनौतिहरू पार गर्न, उच्च गुणस्तरीय बीआरआई परियोजना प्रबर्द्धन गर्न, विभिन्न क्षेत्रमा पारस्परिक लाभदायक सहयोग विस्तार गर्न र दुई देशको रणनीतिक साझेदारीलाई निरन्तरता दिनको लागि मिलेर काम गर्ने अपेक्षा गर्नुभएको छ ।