श्याम पोख्रेल, बुटवल ।
‘स्वतन्त्र नागरिक समूह नेपाल’ले एमसीसी खारेजीको माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाएको छ ।
स्वतन्त्र नागरिक समूह नेपालले नेपाली जनताको भावना बिपरित भित्रिएको एमसीसी खारेज गर्न सरकारसँग माग गरेको छ । समूहले एक विज्ञप्ति प्रकाशित गरी जनताको भावना बिपरित काम नर्गन सरकारलाई सचेत गराएको छ ।
समूहका अध्यक्ष विश्वराज गैह्रेले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा सरकार पविरर्तन र व्यवस्थासँग केही सम्बन्ध नरहेको बताउँदै एमसीसी नेपालको हितमा नभएको बताउनुभएको छ । विज्ञप्तिमा देशघाती, जनबिरोधी, नेपालको प्रकृति र संस्कृति सिद्वाउने एमसीसी खारेजी हुनुपर्ने उल्लेख गरिएको छ ।
सम्बन्धित क्षेत्रका सम्पूर्ण व्यक्तिहरुलाई एमसीसीको प्रकृया नै बन्द गर्न अध्यक्ष गैह्रेले आव्हान गर्नुभएको छ । अन्यथा जनताको चाहाना विपरित सरकारले एमसीसी अघि बढाएमा वर्तमान सरकारका लागि परिणाम दुखद् हुने चेतावनी दिइएको छ ।