कल्पना पौडेल ‘जिज्ञासु’ ##
पाखाभरि कपासको बिरुवा लगाइएको थियो । कपासको ती बिरुवा फुलेर फक्रदै गरेको अवस्थामा थिए ।
तिनीमध्ये एउटा सानो भर्खरै फक्रदै गरेको कपास असाध्यै सुन्दर थियो । आफ्नो सुन्दरतामा मख्ख थियो । अत्यन्तै खुसी र गौरव महसुस गथ्र्यो । रातको शीतको थोपा बिहानीको उषासँगै तिनै कपासमाथि बर्सिंदा कपासमा नयाँ रौनक छाउथ्यो । कपास अझै सुन्दर देखिन्थ्यो ।
प्रकृतिको नियम पनि कति साह्रै निष्ठुरी रहेछ । कुनै कुनै वनस्पतिको आयु निकै छोटो हुन्छ । भर्खर मात्र फूल बडो सङ्घर्ष गरी बोक्रालाई छिचोल्दै कपासको रूपमा जन्म लिएको थियो । त्यो सुन्दर कपास फक्रेको केही दिनमा किसानले टपक्क टिपेर मुठिभरि पैसा लिएर व्यापारीको हातमा बेचिदियो । व्यापारीले कारखानामा लगेर अर्को व्यापारीलाई बेच्यो ।
ती सुन्दर सेता कपासलाई मेसिनभित्र राखियो । जब मेसिन चल्यो, कपास पेलिए । कतै थिचिए । लामो समयको सङ्घर्ष, धेरै बेरको दुखाइको सामना गरेर कपास धागोमा रूपान्तरण भयो । मेसिनबाट बाहिर निकालिए । त्यही धागोलाई फेरि अर्को मेसिनमा राखियो । अब त्यो धागोरूपी कपास राम्रो राम्रो कपडामा परिणत भए ।
मेसिनबाहिर निस्किएपछि भने कपास खुसी थिए; किनकि, उनीहरू कपडाको माध्यमबाट व्यक्तिको लाज ढाक्न, न्यानोपन दिन, घामपानीबाट जोगाउन सकिने वस्त्रको रूपमा रूपान्तरण थिए । आफू दुःख र पीडाको चपेटाबाट निस्केर अरूको काम लाग्ने उपयोगी वस्तु बन्न सकेकोमा कपासलाई गौरव लागेको थियो ।
केही बेरमै ती कपडा फेरि दर्जीकहाँ पुगे । दर्जीले काट्यो; च्यात्यो; टुक्रा टुक्रा पार्यो; चरम दुखाइको सामना पुनः गर्नुपर्यो, तिनी सुन्दर कपासलाई । टुक्रिए, सिलाइये, क्षणिक खुसी तुरुन्तै आँसुमा, दुखाइमा मिसिन पुग्यो । कपासलाई नैराश्यता नछाएको त कहाँ थियो र ?
दर्जीले सुन्दर सुन्दर पाइजामा बनाएर ससाना बालकलाइ लगाइदियो । ती बालक खुसीले गद्गद् भए । बालकहरू फुर्केको देखेर कपासले आफ्नो सारा दुखाइ बिर्सियो र बालकको खुसीमा आफ्नो खुसी मिसायो । आफूलाई कपास हुनुमा गौरव गर्यो ।
पाइजामा पुरानो भयो । पुराना कपडा जम्मा गर्ने ठाउमा पुर्याइयो । अर्को मेसिनमा राखिए । फेरि पिसिएर पुराना कपडाले अब कागजको रूप लिएको थियो । तिनै कागजमा दर्शनशास्त्र लेखिए; ज्ञानमूलक पुस्तक बने । कुनै धार्मिक पुस्तक बनेर मन्दिरमा सजिए, पुजिए । अब फेरि अर्को मेसिनमा पेलिन, दर्जीकोमा सिलाइन आवश्यक जहाँ राखिए, त्यहाँबाट कहिल्यै हट्नुपरेन । निकै खुसी भयो कपास, मन्दिरमा पुजिन पाउँदा ।
तिनै दर्शनशास्त्र पढेर कैयौँ दार्शनिक बने । विश्वभरि ज्ञानको सन्देश बाँडे । राजनीतिज्ञ बने । मन्त्री र प्रधानमन्त्री बनेर संसारलाइ परिवर्तन गरी विकासका मूल फुटाले । अब तिनै पटक पटक थिचिएका, मिचिएका, पिसिएका, टुक्रिएका कपासले विगतका चोट, पीडा सङ्घर्ष सबै भुलेर आफू अमर बन्न सकेकोमा, कपास हुनुमा गौरव गर्दै सुख र खुसीको अनुभूति गरे ।
खजुरा, बाँके