काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका संसद सचिवालयले जनाएको छ ।
सर्वोच्च अदालतको फैसलाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्ति गर्नुभएको हो ।
संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै छ।
१४९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका देउवालाई सो संख्यामा सांसदहरूको समर्थन कायमै छ । आन्तरिक विवादका बाबजुद नेकपा (एमाले) को माधव नेपाल पक्ष र जसपा उपेन्द्र यादव पक्षले देउवालाई साथ दिएको छ ।
देउवाको पक्षमा नेपाली कांग्रेस, नेकपा (माओावदी) केन्द्र, एमाले (नेपाल पक्ष) जसपा (यादव पक्ष) र राष्ट्रिय जनमोर्चाको समर्थन रहेका कारण विश्वासको मत पाउने सम्भावना प्रवल छ । त्यसो भएमा यो सरकार करिब डेढ वर्ष टिक्नेछ र यही सरकारले निर्वाचन गराउने छ ।
देउवाले बहुमत ल्याउन नसके कामचलाउ प्रधानमन्त्रीमा परिणत हुनुहुनेछ । सरकार गठनका अन्तिम उपधाराबाट प्रधानमन्त्री बनेकाले अब उहाँले विश्वासको मत लिन असफल भए प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गर्न सक्ने संवैधानिक व्यवस्था छ।