बुटवल । प्रदेश सरकारले प्रस्तुत गरेको बजेट फेल हुने अवस्था आएपछि लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ । मुख्य मन्त्री शंकर पोखरेलले मध्यरातमा प्रदेश प्रमुख मार्फत प्रदेशसभाको आठौँ अधिवेशनको अन्त्य गराउनु भएको हो ।
बजेटका सम्बन्धमा सबै प्रक्रिया पुरा गरेर मतदान प्रक्रियामा जाने बेलामा हिजो (बिहीबार) मुख्यमन्त्री पोखरेल बहिस्कार गर्दै प्रदेशसभाबाट बाहिरिनु भएको थियो ।
सत्तापक्षको सदन बहिस्कार पछि सभामुख पूर्णबहादुर घर्तीले शुक्रबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित गर्नुभएको थियो । तर मुख्यमन्त्री पोखरेलले मध्यरात सभाको अधिवेशन नै अन्त्य गरिदिनुभएको छ ।
सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले अधिवेशन अन्त्य भएको सूचना सार्वजनिक गरेको छ । असार ३१ को मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम मुख्यमन्त्री शंकर पोखरेलबाट अनुरोध भएपछि अनुसार चालु आठौँ अधिवेशनको अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका र अनेक तिकडक गरेर सत्तामा टाँसिइरहन चाहेको विपक्षीले आरोप लगाउँदै आएका छन् ।