काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी ओलीले पार्टी एकताको ढोका बन्द गरेको बताउनुभएको छ । उहाँले ओली जथाभावी बर्बराउन थालेको आरोप पनि लगाउनु भयो ।
बुधबार ओलीले बालकोट पुगेर नेता नेपाललाई गद्दार घोषणा गर्दै पार्टीमा कुनै स्थान नहुने बताउनु भएको थियो । ओलीको अभिव्यक्तिलाई नेता नेपालले भने ‘सत्ताच्युत हुनु पर्दाको बर्बराहट’ भन्दै ‘धर्तीमा उभिन’ सुझाव दिनुभएको छ ।
यस्तै, नेता नेपालले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने पनि प्रष्ट पार्नुभएको छ । बुधबार नेपाल निवास कोटेश्वरमा भेट गर्न गएका प्रधानमन्त्री देउवालाई आफ्नो तर्फबाट विश्वासको मत दिने र संसद जोगाउन भूमिका खेल्ने आस्वासन दिएको नेपाल निकट एक नेताले बताए ।
नेपालले प्रतिनिधिसभा पूर्णकाल चलाउनुपर्ने आफूहरूको एजेण्डा पुरा भइनसकेकोले संसदको स्थायित्वका लागि पनि विश्वासको मत दिने प्रष्ट पार्नुभएको थियो । नेपाल पक्षमा अहिले २३ सांसद छन् । जसमध्ये ८ समानुपातिकतर्फका सांसद हुन् ।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
एमाले अध्यक्ष ओलीले भने नेपाल पक्षका सांसदहरूलाई पार्टीबाट निष्काशन गरी सांसद सदस्य पनि नरहने गरी तयारी थालेको बुझिएको छ । कारबाहीको अवस्था आएमा १५ जना सांसद यथावत् रहन सक्छन् । ८ समानुपातिक सांसदबारे भने अन्यौल रहन सक्छ ।
सर्वोच्चले नेपाल समूहका २३ सांसदसहित १४६ सांसदले दिएको रिटअनुसार नै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै उहाँ मंगलबार प्रधानमन्त्री बन्नुभएको हो ।
बालकोट पुगेर ओलीले भने : माधव नेपाललाई एमालेमा कुनै स्थान छैन, समर्थकले लगाए अभद्र नारा