काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटी बुझाएर विशेष अदालतबाट छुट्नुभएको छ । बुधबार आफैँ अदालत हाजिर भएका गच्छदारसँग अदालतले १० लाख रुपैयाँ धरौटी मागेको हो ।
Advertisement
आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लागेपछि उहाँ करिब डेढ वर्षदेखि फरार रहँदै आउनुभएको थियो । छुटेपछि प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका उप सभापतिसमेत रहेका गच्छदारले आफूमाथि पूर्वाग्रही भएर प्रतिशोध साँध्न मुद्दा चलाइएको दाबी गर्नुभएको छ ।
बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले १० लाख धरौटीमा छोड्न आदेश दिएको हो । आदेशलगत्तै धरौटी रकम नगदै बुझाएर उहाँ बाहिरिनुभएको हो ।