काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले आफूले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रतिनिधिसँग भेट गरेको भनेर आएका समाचारमा सत्यता नरहेको बताउनुभएको छ । यस्तै, एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कार्यबहाक अध्यक्ष दिने भन्ने कुरा पनि षड्यन्त्रपूर्वक फैलाइएको उहाँको दाबी छ ।
Advertisement
बुधबार एक विज्ञप्ति प्रकाशित गरी रावलले यही असार २० गते रअ का प्रतिनिधिसँग रावलको भेट भएको भन्ने समाचारप्रति आपत्ति जनाउनुभएको छ । पद र प्रतिष्ठाका लागि बाह्य शक्तिका सामु घुडा टेक्दै देशलाई संकटतर्फ धकेल्नेहरुले नै आफूविरुद्ध झुटो प्रचार गरेको रावलको दाबी छ ।
‘नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र समृद्धिको लागि मैले उठाएको देशभक्ति र स्वाभिमानको झन्डा कदापि झुक्ने छैन’ विज्ञप्तिमा भनिएको छ, ‘देशघाती र जनघातीहरुको कुप्रचारबाट म रत्तिभर विचलित हुने छैन ।’

