बुटवल । लुम्बिनी प्रदेशका सांसद तारा जिसीले लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको हालत पनि केपी ओलीको जस्तै हुनसक्ने बताउनुभएको छ ।
मंगलबार प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटबारे छलफलमा सहभागी सांसद जिसीले प्रदेश सरकार पनि निवर्तमान प्रधानमन्त्री ओली जस्तै अनेक तिकडक गरेर चलेको आरोप लगाउनुभयो ।
राष्ट्रिय जनमोर्चाका सांसद जिसीले मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको अवैधानिक सरकार रहेको दाबी गर्नुभयो ।
‘जसरी सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको सर्वसत्तावाद र सत्ताधारीहरुलाइ घरको न घाटको बनायो यहाँ सत्ता टिकाउन गरिएको तिकडम देख्दा केन्द्रको यो हविगती कतै यतैको सल्लाह, आविश्कार वा गुरुयोजना त होइन? शंका गर्ने ठाउँ छ’ जिसीले भन्नुभयो ।
सांसद जिसीले प्रदेश सरकारले सत्ताधारी दलका कार्यकर्तालाई रकम वितरण गरेको आरोप पनि लगाउनुभयो ।
यस्तै, उहाँले प्रदेश सभामा टेवुल भएको संचारसम्बन्धी विधेयक नेपालको संविधानको भावना विपरित मात्रै नभई प्रेश स्वतन्त्रता विरुद्व समेत भएको बताउँदै खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।