बगदाद । इराकको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ । इराकको दक्षिण प्रान्त धिक्वारमा सो दुर्घटना भएको हो ।
उक्त अस्पतालमा कोभिड १९ का बिरामीहरूको उपचार जारी रहेको थियो । अस्पतालमा सोमबार राति अकस्मात आगो लागेको थियो । सो अस्पताल इराकको राजधानी बगदादबाट करिब ३७५ किमि टाढा रहेको छ ।
विशेषगरी कोभिडका बिरामीको उपचार जारी रहेको सो अस्पतालमा आगो लागेको यहाँका सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् । नासियारा सहरको सो अस्पतालमा आगलागी भएको बताइएको छ ।
उक्त अस्पतालमा निर्माण गरिएको कोभिड १९ का सङ्क्रमितलाई राखेर उपचार गर्ने क्वारेन्टाइनमा सो आगलागी भएको थियो । त्यसमा परेर ४१ जनाको ज्यान नै गएको बताइएको छ भने अरू केही बिरामी घाइते भएका छन् ।
अस्पतालमा आगो लागेपछि ठुलो सङ्ख्याका अग्नि नियन्त्रक आगो निभाउनका लागि खटाइएको थियो । तर उनीहरूले पनि लामो समयसम्म आगो नियन्त्रणमा लिन नसकेपछि ठुलो क्षति हुन पुगेको बताइएको छ ।
इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले सो आगलागीको कारण र यसले उत्पन्न गर्न सक्ने अवस्थाका बारेमा छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक नै बोलाउनुभएको थियो ।
यहाँको प्रहरीले उक्त अस्पताल भवनमा के कति कारणले आगलागी भएको हो भन्नेबारेमा अनुसन्धान थालेको बताएको छ । त्यस आगलागीमा परेर ज्यान जानेमा प्रायः बिरामी नै परेको अनुमान गरिएको छ । यस विषयमा अस्पतालले केही बताएको छैन ।
अस्पतालले सो अस्पताल भवनमा कोभिड–१९ का सङ्क्रमितको उपचार केन्द्र राखिएको र त्यहाँ कोभिडका मात्र बिरामीको उपचार गर्ने गरिएको जनाएको छ । (रासस/सिन्ह्वा)