केपटाउन (दक्षिण अफ्रिका) ।।
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकोब जुमा जेल परेपछि करिब एक सातादेखि भइरहेका हिंसात्मक प्रदर्शनलाई रोक्न सरकारले सेना परिचालन गरेको छ ।
राष्ट्रपति सिरिल रामाफोसाले आम नागरिकलाई हिंसा विरुद्ध उभिन आह्वान गर्नुभएको छ । उहाँले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहने विरुद्ध दृढ रूपमा उभिन सर्वसाधारणलाई आग्रह गर्नुभएको हो ।
जुमाले प्रहरीसमक्ष गत हप्ता आत्मसमर्पण गरे पनि उहाँको समर्थनमा भएका प्रदर्शनमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी पक्राउ परेका छन् ।
जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।
भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमाबाहेक दक्षिण अफ्रिकी कुनै पनि पूर्व राष्ट्रपतिलाई सजाय सुनाइएको थिएन ।
प्रहरीका अनुसार प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडपका घटना भइरहँदा सहरका केही भवनमा आगजनी भएको छ भने पसल लुटिएका छन् ।
सरकारले खावटेयाङ राज्य र जुमाको गृहराज्य क्वाजुलु नटालमा सुरक्षा फौज परिचालन गरिएको छ ।
संवैधानिक अदालतले आफ्नो सजाय फिर्ता लिने वा कम गरिदिने अपेक्षा जुमाले गरेका उनका निकटस्थ स्रोतले बताएका छन् ।
कानुनविद्हरूले जेल सजाय माफी वा कम गर्ने सम्भावना भने नरहेको बताइरहेका छन् ।
जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।
जुमाको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञसँग साठगाँठ गरेको व्यापारीमाथि आरोप लगाइएको छ ।
सन् २०१८ मा सेनाको सहयोगमा उहाँको दलसहित त्यहाँका राजनीतिक दलले उहाँलाई पदच्यूत गर्न सफल भए पनि उहाँको पक्षमा अहिले पनि ठुलो समूह रहेको छ । (रासस/एएफपी)