काठमाडौँ । पाँच विद्यार्थी सङ्गठनले यही असार ३० गतेदेखि देशभरका पेट्रोल पम्प र ट्याङ्कर चल्न रोक लगाउने घोषणा गरेका छन् ।
आइतबार पत्रकार सम्मेलन गरी अखिल (छैठौं), नेविसङ्घ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने चेतावनी दिएका हुन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विद्यार्थी सङ्गठनले असार २८ गतेदेखि नेपाल आयल निगमका गाडी चल्न नदिने र असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने सङ्गठनलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने जनाएका छन् । यसअघि असार २४ गते विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिएका थिए ।
यस्तै, पाँच विद्यार्थी सङ्गठनद्वारा वितरित प्रेसविज्ञप्तिमा नेपाल वायु सेवा निगमको निजीकरणका विषयमा सलग्न मन्त्रालयका कर्मचारी र महाप्रबन्धकलाई बर्खास्त गर्न माग गरिएको छ ।
यस्तै, उनीहरूले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले अनियमितता गरेको भन्दै गिरीलाई बर्खास्त गर्न माग गरेका छन् ।
विद्यार्थी सङ्गठनले हिमालयन इन्सुरेन्सलाई लाइसेन्स दिँदा एक अर्ब बढीको आर्थिक चलखेल भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएका छन् ।
विज्ञप्तिमा एसइई तथा कक्षा १२ को परीक्षामा देखिएका समस्या समाधान गर्न माग गरिएको छ भने विश्वविद्यालयले लिनुपर्ने सम्पूर्ण परीक्षा, एमफिल र पिएचडीका समस्या तथा नयाँ विषयका निजीकरणका समस्याका बारेमा संयुक्त डेलिगेसन गई विश्वविद्यालयको नेतृत्वसँग छलफल भएको तर, त्यसप्रति वेवास्ता गरिएको भन्दै थप आन्दोलन गर्ने चेतावनी दिइएको छ ।