काबुल । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परि थप ६९ जनाको मृत्यु भएको छ ।
सुरक्षाकर्मीले तालिबान लडाकु विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरू मारिएका हुन । मारिएका सबै तालिबान लडाकु नै भएको दाबी गरिएको छ । सुरक्षा कारबाहीका क्रममा अरू २३ जना घाइतेसमेत भएको सरकारी अधिकारीले जानकारी दिएका छन ।
सुरक्षा कारबाहीपछि सरकारी सुरक्षाकर्मीले क्वाला ए नाव सहर आफ्नो नियन्त्रणमा लिइएको दाबीसमेत गरेका छन् । यसअघि सो सहर तालिबान लडाकुहरूले नियन्त्रणमा लिएको घोषणा गरेका थिए ।
‘क्वाला ए नाव सहरलाई सुरक्षाकर्मीले बुधबार आफ्नो नियन्त्रणमा लिएका छन, त्यसअघि सुरक्षाकर्मीले तालिबान लडाकु विरुद्ध सुरक्षा कारबाही चलाएका थिए’ रक्षा मन्त्रालयद्धारा जारी वक्तव्यमा लेखिएको छ ।
पश्चिमी बद्दिस प्रान्तअन्तर्गत पर्ने त्यस ठाउँमा लामो समयदेखि तालिवान लडाकुको प्रभाव रहदै आएको मानिन्छ ।
अफगानिस्तानमा लामो समयदेखि आन्तरिक द्वन्द्व चलिरहेको छ भने द्वन्द्व अन्त्यका लागि भन्दै वार्ताको प्रयास पनि भइरहेका छन् । (रासस/एएनआई)