काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं. १, प्रदेश नं. २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
त्यसैगरी, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ भने राति लुम्बिनी, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा हुन सक्ने छ । त्यस्तै, सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा थोरै भारी वर्षा हुने देखिएको छ ।
महाशाखाले जारी गरेको आगामी मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रहने छ ।
एवम् प्रकारले, शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं. १ बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
काठमाडौँ उपत्यकामा गए रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा १६ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै घोराहीमा १३६, ताप्लेजुङमा ५८, धनकुटामा ५० र पोखरामा ४६ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको अधिकतम २९ दशमलव ५ र न्यूनतम तापक्रम २१ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।