डा. गोविन्दप्रसाद आचार्य ##
क्रान्तिकारी कवि–लेखक समयले माग्यो ।
संसारले भन्नुपर्छ अँधेरोले भाग्यो ।।
पधेरोका मर्महरू अब लेख्नुपर्छ ।
पधेरोलार्ई नयाँ युगमा आऊ भन्नुपर्छ ।।
नबुझेर अल्मलिए अब जुर्मुराउँछन् ।
पानी बोक्ने दिदीबहिनी जुरुजुरु उठ्छन् ।।
दिन पनि पसिनामा रात पसिनामा ।
अँधेरोमा पानी बोक्दै जीवन गयो आसमा ।।
काम नगरी खान हुन्न काम पनि गर्ने ।
दिनरात पसिनामा कैले आराम गर्ने ।।
क्रान्तिकारी कवि–लेखक किन नबोलेको ।
पधेरोका पीडा मर्म किन नलेखेको ।।
पिल्सिएका दिदीबहिनी आमालार्ई डाक्ने ।
त्यै पधेरा हुनुपछँ नयाँ युग हाँक्ने ।।
त्यहीँबाट आउनुपर्छ जनलेखक–कवि ।
त्यहीँबाट आउनुपर्छ चेतनाको छवि ।।
दरबारका थाल चाट्ने हाम्रा कवि हैनन् ।
पधेरोका पीडा मर्म कैले लेख्ने छैनन् ।।
समयलार्ई उल्टोतिर घुमाउन लेख्छन् ।
जीवनभरि दरबारका थाल चाटेर बस्छन् ।।
जनताको मर्म लेखे थाल खोसिने डर ।
उल्टो कर्म गरिकन बनाएका घर ।।
कुटुकुटु कुटिलकोसा खाई बाँचेका मर्म ।
भारी अनि पानी बोकी जीवन बित्या कर्म ।।
हाम्रा सचेत आँखाहरू त्यही पुग्नुपर्छ ।
त्यहीँबाट युग फेर्ने बिगुल बज्नुपर्छ ।।
पधेरोको अँध्यारोलाई नपन्छाई हुन्न ।
सत्य देख सत्य लेख डराएर हुन्न ।।
सैतानको शासन हो यो सत्य छेक्न खोज्छ ।
हाम्रो कलम झनै तिखो पर्दै लेख्नुपर्छ ।।
कलमको चेतनालाई सङ्गिन बनाउने हो ।
सङ्गिनबाट संसारलाई रङ्गिन बनाउने हो ।।
पधेरोले उज्यालोमा आउँदा खुसी लाग्छ ।
त्यो ठाउँमा अँधेरोले कहाँ बस्न सक्छ ।।
कलममा तागत हुन्छ सानो तिखो चुच्चो ।
युग फर्ने कलम कैलै हुन दिन्नौँ बुच्चो ।।
सैतानको डर मान्ने दिन अब गए ।
पीडाहरू तगतमा बदलिएर आए ।।
संसारलाई बदल्ने हो मानिसको हितमा ।
रमाउने छन् पँधेराले सृजनाको जितमा ।।
कवि–लेखक बस्ती बस्ती कलम लगी जाऊ ।
सैतानका किल्लाहरू भत्काउँदै जाऊ ।।
जीवनगीत गाउनुपर्छ मानिसले बुझ्छन् ।
बुझे भने सैतानको शासन किन पुज्छन् ।।
हैन हाम्रो छैन न्याय ढाँटी खाने बाटो ।
उल्ट्याएर ल्याउनुपर्छ न्याय दिने बाटो ।।
सैतानको साशानले बिहानीलार्ई छेक्यो ।
यी पँधेरा उठ्छन् अब सही के हो देख्यो ।।
क्रान्तिकारी भन्नेहरू सकिएर गले ।
गइमरेको शासनका काखमाथि ढले ।।
झुट कस्ले भन्न सक्छ सत्य घामलार्ई ।
सामन्तको काखमा सुत्ने क्रान्तिकारीलार्ई ।।
सैतानको सेवा सिको क्रान्तिकारी हुन्न ।
आस किन गर्नुपर्यो सैतानले दिन्न ।।
कवि–लेखक क्रान्तिको कलम चलाईदेऊ ।
कलमबाट सैतानको शासन जलाईदेऊ ।।
कलमको चेतनामा शान्त शीतल हुन्छ ।
त्यै कलमको चेतनामा आगो भर्भराउँछ ।।
कलमको चेतनाले सत्य देख्छ लख्छ ।
सत्य छेक्ने सैतानको नामनिसाना मेट्छ ।।
किन हुन्न सैतान हा मान्छे अघि आउन ।
खबरदार दमन गर्ने कानुन बन्नु हुन्न ।।
मक्किएका कानुनलाई मक्किएको टालो ।
दमन गर्ने सैतानका गयो अब पालो ।।
लेखकको कलमले कठालोमा छोप्ला ।
सैतानको शासनलाई धुलो पिठो पर्ला ।।
कवि–लेखक सैतानको पोल खोल्नुपर्यो ।
यतिन्जेल सैतानले अन्धकार छर्यो ।।
अन्धकारसँगै फाल्ने सैतानको शासन ।
नयाँ नयाँ सृजनाका मुनाहरू हासुन् ।।
हाम्रा कला कलकल बग्ने मिठो पानीजस्ता ।
धुपिलोका समयमा पिऊँ पिऊँ जस्ता ।।
निमुखालाई निमोठेको हेर्न सकिँदैन ।
न्याय सत्य लेख्न हाम्रो कलम रोकिँदैन ।।
हाम्रो कलम आकाशका तारासँग बोल्छ ।
कलमसँग घाम छेक्ने बादल डराउँछ ।।
अन्यायको महामारी सैतानको शासन ।
त्यै रोगमा मान्छेहरू तड्पिरहेका छन् ।।
कराउँदै हिँड्ने रोग हाम्लाई लाग्या छैन ।
सैतानको शासनले सुख्ख दिँदै दिन्न ।।
आदेश मान्ने कलम हैन सत्ता शासनको ।
प्रिय कवि प्रिय लेखक जनजागरणको ।।
गोली बन्दुक पड्किँदैन हाम्रो हातबाट ।
सैतानको शासन फाल्छौँ सानो कलमबाट ।।
कलमको सानो चुच्चो एक थोपा मसी ।
बनाउँछौँ सैतानलाई झुन्ड्याउने रसी ।।
अन्यायले खान आए कलमले हान्छौँ ।
कलम बोकी गरिबका घरआँगनमा पुग्छौँ ।।
जनताका कवि–लेखक प्रष्ट हुन पर्छ ।
प्रष्टबाट भ्रष्ट शासन तब उखेलिन्छ ।।
केश फुल्दैमा पाको हुन्न हुन्छ विचारमा ।
संसारलाई हिँडाउने हो नयाँ दर्शनमा ।।
विचारको दर्शन भन्छ सैतान चाहिँदैन ।
चाहिँदैन समाजलाई सैतानको ज्ञान ।।
कवि–लेखक कलमको दिमाग दह्रो पार ।
दह्रो दिमाग सैतानको लुलो शासन झार ।।
जता हेर्यो दोषैदोेष राम्रो कहाँ छ र ।
कवि–लेखक नराम्रोलाई मिल्काउने गर ।।
कलमले गल्र्यामगुर्लुम दरबार ढाल्नुपर्छ ।
तिखो लेखन तरबारको धार बन्नुपर्छ ।।
कलमबाट फाल्नुपर्छ यतिन्जेलको मैलो ।
सैतानको शासन फाले बल्ल खुल्छ दैलो ।।
कवि–लेखक बाँडिएर भाँडिएर हुन्न ।
जनताको पीडाबाट टाढिएर हुन्न ।।
क्रान्ति रोक्ने तागत कसको दिन आजको हैन ।
यै शासनको सेवा गर्ने सेवक चाहिँदैन ।।
पधेरोका मर्म जागे अँध्यारोले जान्छ ।
डर बोकेर बाँच्नुहुन्न सैतानले खान्छ ।।
जनताले जीवनतिर फर्किएर हेर्नुपर्यो ।
बालदेखि वृद्ध जीवन के गरेर गयो ।।
जमिनमा हाड घोटी किसानको गयो ।
पसिनामा सैतानले गर्नु चइन गर्याे ।।
यो होला कि त्यो होला कि भन्दै जीवन बिते ।
जनताको हार भयो सैतानले जिते ।।
कोही गए क्रान्ति भन्दै जन रगत माग्न ।
रगत मागे क्रान्ति लगे भोगविलास गर्न ।।
विजयको बिगुल बज्यो भन्दै हिँडेका छन् ।
त्यै पुरानो सैतानको शासन जितेका हुन् ।।
न त गयो पधेरोको कालो अन्धकार ।
न त भयो कामदारको बास बस्ने घर ।।
कवि–लेखक जागृतिका साहसिला गीत ।
संसारमा गाउँदै जाउ सबैको मान जित ।।
मन मात्र जित्ने हैन हित पनि गर ।
संसारमा जता पनि न्यायनिसाप गर ।।
जनताको साहित्यलाई देख्न नरुचाउने ।
जनताका पीडा मर्का लेख्दा सानो हुने ।।
समाजलाई तल देख्ने कस्तो लेखक हुने ।
सैतानको शासनमा लुटुपुटु गर्ने ।।
जनताको आँखा खोल्ने कवि–लेखक आऊ ।
सुन्दर संसार निर्माणका जित्ने गीत गाऊ ।।
सैतानको शासनसित नडराई लेख ।
आज कठिन भोलि सुन्दर संसारलाई देख ।।
रचनाको हतियारले सैतानलाई ठोक ।
सुन्दर संसार निर्माणको अभिभारा बोक ।।
नहिँडाऊ दिनरात पानी पँधेरोमा ।
नकुराऊ जिन्दगानी कालो अँधेरोमा ।।
त्यहाँ दिनुपर्छ कवि चेतनाको राँको ।
डाँको गर्ने सैतानको तिन्ले खान्छन् सातो ।।
सैतानको शासन चल्यो हतियारको बलले ।
हतियार नास गर्छ हाम्रो सृजनाले ।।
संसार फेर्ने दह्रो दर्शन हाम्ले पक्डेका छौँ ।
दर्शनको सृजनामा हामी हिँडेका छौँ ।।
हाम्रो कला दर्शनको रसबाट आयो ।
सैतानको शासनबाट मुक्त हुन गायो ।।
हाम्रो कला सत्य बोल्ने हृदयको रस ।
रस पिउँदै विचारको छहारीमा बस ।।
किसानका कवि–लेखक हातमा ठेला देख्छौँ ।
तिनै ठेला जीवन जिउने दर्शन बनाउँछौँ ।।
ठेला देख्छौँ ठेला भित्र विश्वचित्र देख्छौँ ।
त्यै चित्रले बिउँझाएको विश्वचेत लेख्छौँ ।।
चेतबाट विश्वक्रान्ति मानव मुक्ति देख्छौँ ।
कलमको चुच्चोबाट बाटो सोझाइदिन्छौँ ।।
विचारले कलमलाई तिखारेका हामी ।
दिमागबाट सैतानका डर निकालेका हामी ।।
तिखा काँडा टेक्नुपरे टेक्न डराउँदैनौँ ।
हाम्रो कर्म सृजना हो बाटो बिराउँदैनौँ ।।