काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज (सोमबार)देखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो ।
आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उहाँका अनुसार आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ । प्रणालीको मागअनुसार विजुली उत्पादन हुने प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।
७६/७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिक तय गरिएको छ । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमशः विद्युत उत्पादन हुनेछ ।
आयोजनाले आज मात्रै विद्युत्गृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।
जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सबै प्रकारका परीक्षणहरु सफलतापूर्वक सम्पन्न भइसकेका छन् । विद्युतगृहमा पहिलो युनिटको परीक्षण भइरहेको छ ।
आयोजनाबाट उत्पादित विद्युत गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ। यसका लागि प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ भने लाइनको परीक्षण भइरहेको छ।
७६ किलोमिटर खिम्ती–ढल्केबर प्रसारण लाइनको परीक्षण भइरहेको छ। माथिल्लो तामाकोसीको विद्युतगृह दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्मको ४७ किलोमिटर २२० केभी प्रसारण लाइनको परीक्षण गरिने छ। खिम्तीमा निर्माणाधीन २२० केभीको न्यू खिम्ती सबस्टेसनको परीक्षण भइरहेको छ।
सबस्टेसनको निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत न्यू खिम्तीबाट ढल्केबरतर्फ र खिम्ती–लामोसाँघु–भक्तपुर प्रसारण लाइनमार्फत काठमाडौं उपत्यकातर्फ प्रवाह गरिने छ । सबस्टेसन १५ दिनभित्रमा सञ्जालनमा आउनेछ।
आयोजनाको साइट कार्यालय, आयोजनास्थलसम्मको पुहँच सडक, पुललगायतका पूर्वाधार निर्माणको कार्य आर्थिक वर्ष २०६२/६३मा र मुख्य संरचनाहरुको निर्माण आर्थिक वर्ष २०६७/६८मा सुरु भएको थियो । २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।
लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो। भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, महामारीको रुपमा विश्वभर फैलिएको कोभिड–१९ लगायतले आयोजनाको निर्माण प्रभावित भएको थियो ।
लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो। उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्व, आयोजनामा खटिएका कर्मचारी, ठेकेदार कम्पनीहरु, स्थानीय बासिन्दाहरुलगायत सबैको अथक प्रयास र सहयोगमा आयोजना विद्युत उत्पादन गर्ने अवस्थामा पुगेको छ।
आयोजनाले चरिकोट (दोलखा)–सिंगटी ३५ किलोमिटर सडकमा करिब एक अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो। आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र ७ वटा पक्की पुल बनाएको छ।
पछिल्लोपटक प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आयोजनास्थल पुगेर आवश्यक निर्देशन तथा बिजुली उत्पादनको तयारीका बारेमा जानकारी लिनुभएको थियो । पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हरेक महिना आयोजनास्थल पुगेर समस्या समाधानमा सहजीकरण गर्नुभएको थियो ।
सबैको साथ र सहयोगका कारण माथिल्लो तामाकोशी निर्माणको अन्तिम चरणमा पुगेको भन्दै आयोजनाले प्रसन्नता व्यक्त गरेको छ ।तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले सो आयोजनाको शिलान्यास गर्नुभएको थियो ।