मधुकर अधिकारी/वासिङ्टन डिसी ।
अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले अमेरिकी सरकारले कोभिड विरुद्धको लडाइँमा नेपाललाई पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो– ‘सत्तरी वर्ष अगाडि नै अमेरिकीहरू नेपालमा गएर शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आयोजनामा स्वयम्सेवी भावले गर्नुभएको सहयोग स्मरणीय छ ।’
शनिबार न्यूयोर्कमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय समितिको दशौँ वार्षिक साधारण सभा तथा पदस्थापन समारोहमा राजदूत खतिवडाले अमेरिका र नेपालबिच राजनीतिक र कूटनीतिक तबरको भन्दा पनि नागरिक स्तरको सम्बन्धसमेत सुदृढ रहेको स्मरण गर्दै नेपाली मूलका अमेरिकी नागरिकलाई त्यसमा थप योगदान गर्न अपिल गर्नुभयो ।
खतिवडाले गैरआवासीय सङ्घको भावनालाई सम्बोधन गर्दै नेपालको संविधानले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरेको बताउनुभयो । ‘एक पटकको नेपाली सधैँका लागि नेपाली’ भन्ने भावनालाई सम्बोधन गर्दै संविधानमा गरिएको व्यवस्थानुसार एनआरएनको मुद्दा र अपेक्षालाई ऐनमार्फत सम्बोधन गरिनेसमेत उहाँको भनाइ थियो ।
अमेरिकामा रहेका नेपालीहरूले यहाँको मूलधारको राजनीतिमा समेत सहभागिता जनाएर निर्वाचित भई सेवा गर्ने अवसर पाउनु महत्वपूर्ण उपलब्धि भएकोप्रति राजदूत खतिवडाले खुशी व्यक्त गर्नुभयो । खतिवडाले गैरआवासीय नेपालीले आफूले हासिल गरेको बौद्धिक सीप र ज्ञानलाई मातृभूमिको विकासका लागिसमेत प्रदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मेरिल्यान्ड जनरल एसेम्बलीका डेलिगेट ह्यारी भण्डारीले अमेरिका अवसरको भूमि भएकाले नेपाली मूलका अमेरिकीलाई सहजपनबाट बाहिर आएर अमेरिकाको मूलधारमा समाहित हुन आग्रह गर्नुभयो । उहाँले अमेरिकामा रहेका नेपालीहरूले अझै धेरै काम गर्न बाँकी नै रहेको बताउनुभयो ।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष सुनिल शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अन्र्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष डा. बद्रि केसी, उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा, सचिव गौरी जोशी, उत्तर अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, प्रवासी मञ्चका प्रभु थापा, एनआरएन अमेरिकाका संरक्षक डा. केशव पौडेल, पूर्वअध्यक्ष खगेन्द्र जिसी, नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेलगायत धारणा राख्नुभएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । (रासस)





