काठमाडौं । नेकपा (एमाले) ले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर सोमबार ५ बजेसम्म फिर्ता लिन माधव नेपाल पक्षलाई अल्टिमेटम दिएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले सो अवधिभित्र हस्ताक्षर फिर्ता लिनुपर्ने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले २ दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउने समर्थन फिर्ता नलिए पार्टी एकता नहुने चेतावनी दिनुभएको थियो । यता नेता माधव नेपालले भने कुनै हालतमा हस्ताक्षर फिर्ता नलिने बताउनुभएको छ ।
बैठकमा ओलीले सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने स्पष्ट पार्नुभएको थियो । ,‘काँग्रेसका नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्य जाने ? यो छुट छैन । यो पार्टी फुटको घोषणा हो’ ओलीले भन्नुभयो ।
वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित २३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेका छन् । उनीहरुले प्रतिनिधि सभा विघटन र देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा रिट दायर समेत गरेका छन् ।
२३ सांसदले हस्ताक्षर फिर्ता लिएमा सर्वोच्च अदालतमा दायर प्रतिनिधि सभा विघटन र देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट कमजोर हुनसक्ने ओली पक्षको निष्कर्ष छ । नेपाल पक्षले पनि ओलीले रिटलाई कमजोर पार्न रणनीति मात्र चालेको बुझाईका आधारमा पछिल्लो निर्णयहरुप्रति आशंका गरेको छ । नेपाल पक्ष केन्द्रीय कमिटी बैठकमा पनि सहभागी भएन ।
ओलीले नेपाललाई एमालेमा रहने हो भने हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखिरहँदा नेपालले भने त्यसलाई अस्वीकार गर्नुभएको छ । बरु राजनीतिबाट सन्यास लिने तर हस्ताक्षर फिर्ता नलिने नेपालको घोषणा रहेको छ । दुवै पक्ष टसमस नभएपछि अब एमाले औपचारिक फुटको घोषणातर्फ बढ्ने देखिएको छ ।
सर्वोच्च अदालतले अर्को हप्ता प्रतिनिधि सभा विघटन र देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने रिटविरुद्ध अन्तिम किनारा लगाउने हुँदा त्यससम्बन्धी विषयमा एमालेभित्र निर्णायक टकराव देखिएको छ । ओली र नेपाल आ आफ्नो अडानमा रहेकाले सर्वोच्चको फैसलाले दुई नेताको राजनीतिक भविष्य मात्र नभई एमाले एकताको पनि टुंगो लाग्ने देखिदैछ ।