बेरुत । लेबनानका ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभावको समस्या रहेको पाइएको छ ।
संयुक्त राष्ट्र सङ्घ बालकोष (युनिसेफ) ले बिहिबार सार्वजनिक गरेको तथ्याङ्कमा अघिल्लो महिना ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभाव रहेको उल्लेख छ ।
‘खाद्य अभावको समस्यामा कमी आएको पाइएको छैन, खाद्य अभावको समस्या नराम्रो अवस्थामा छ, यसले बालबालिकाको स्वास्थ्य, शिक्षा र अन्य विकासमा समेत समस्या उत्पन्न गराएको छ’ लेबनानका लागि युनिसेफका प्रतिनिधि युकेइ मोकौले भन्नुभयो ।
‘लेबनानका दशमध्ये एक बालबालिका काममा जाने परेको पनि पाइएको छ । कुल ४० प्रतिशत बालबालिकाको परिवारजनको रोजगारी छैन । तीमध्ये ७७ प्रतिशत परिवारले कुनै पनि सामाजिक तथा सरकारी सेवा सुविधा तथा राहत पाएका छैनन्’ युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।
लेबनानका कुल १५ प्रतिशत परिवारले उनीहरूका बालबालिकाको पढाइ रोकिदिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । (रासस–सिन्ह्वा)





