काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले विपक्षी पाँच दलीय गठबन्धन प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम र स्वेच्छाचारिताका विरुद्ध खडा भएको स्पष्ट पार्नुभएको छ ।
नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँग बुधबार गरेको अन्तर्क्रिया कार्यक्रममा पौडेलले लोकतन्त्र, संविधान र राष्ट्रको सार्वभौमिकताका लागि ओली प्रवृतिलाई परास्त गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
राजमो प्रवक्ता पौडेलले प्रधानमन्त्री केपी ओली प्रवृत्ति नै मुलुक र मुलुकबासीका लागि सबै भन्दा ठूलो घातक रहेको भन्दै त्यस विरुद्ध एकजुट हुन आव्हान गर्नुभयो ।
‘तपाईंहरुलाई सरकारमा लैजान हामीले किन काँध थाप्ने?’ भन्ने नागरिक अगुवाहरुको प्रश्नमा नेत्री पौडेलले सरकार कस्को नेतृत्वमा बन्छ र को को सामेल हुन्छन् भन्ने मुख्य प्रश्न नभएको बताउनुभयो ।
‘हामी अहिले जुन लडाईं लडिरहेका छौं, त्यो लोकतन्त्र, संविधान र राष्ट्रको सार्वभौमिकता रक्षाको लडाईं हो’ पौडेलले भन्नुभयो, ‘सरकारमा को जान्छन् भन्ने प्रश्न प्रमुख होइन, प्रमुख कुरा त संविधान रहने कि नरहने, जनताले संघर्ष गरेर ल्याएको लोकतन्त्र रहने कि नरहने भन्ने हो । जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षता समाप्त हुन दिनुहुँदैन ।’
उहाँले प्रतिगमन समग्र देश र जनताका लागि दूर्भाग्य भएको बताउनुभयो । यदी समयमै यसलाई रोक्न नसके फेरि जनताले लोकतन्त्रकै लागि अर्को लडाईं लड्न बाध्य हुनुपर्ने बताउनुभयो ।
नागरिक अगुवाहरुले ‘सबै दलहरु उस्तै उस्तै हुन्’ भनि गरेको टिप्पणी प्रति पौडेलले प्रतिगमन गर्ने र लोकतन्त्र रक्षाका लागि लड्ने शक्तिहरु कसरी उस्तै हुन्छन् भनि प्रतिप्रश्न गर्नुभयो । उहाँले प्रतिगमन ‘दोष’ हो भने त्यसविरुद्धको लडाईं ‘गुण’ हो भन्नुभयो ।
अहिलेको गठबन्धन मतभेदबीचको एकता भएको स्पष्ट पार्दै गठबन्धनमा सहभागी दलहरुको साझा उद्देश्य ओली नेतृत्वको प्रतिगमनलाई परास्त गर्नु रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा गठबन्धनमा सहभागी दलका शिर्ष नेताहरुले ओली प्रवृत्तिको अन्त्य गर्नु अपरिहार्य रहेको भन्दै त्यस कार्यमा एकठाउँमा उभिन सबैलाई आग्रह गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी दल जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुभएको थियो ।