म्युनिख (जर्मनी) । आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा चीन सरकारको विरोधमा रहेका चिनियाँ आप्रवासीले आगामी बेइजिङ ओलम्पिक स्थगित गर्न माग गर्न लागेका हुन् ।
कोरोना महामारीको खतरा अझै पनि पूर्ण रूपमा अन्त्य भइनसकेकाले आगामी वर्ष नै यति ठुलो खेलकुद प्रतियोगिता गर्नु उपयुक्त नहुने उनीहरूको भनाइ छ ।
बेइजिङ ओलम्पिक स्थगित गर्नुपर्ने एक सूत्रीय अभियानस्वरूप चिनियाँहरूले आज विश्वका प्रमुख ६० भन्दा बढी सहरमा प्रदर्शन गरेका छन् ।
विभिन्न देशमा छरिएर रहेका चीन विरोधी ती चिनियाँ आप्रवासीले आगामी वर्ष पनि खेलकुद प्रतियोगिता गराइहाल्ने अवस्था नरहेको दावी गरेका छन् । उनीहरूले खेल स्थगित गर्नुपर्ने सन्देश विभिन्न माध्यमबाट चिनियाँ राष्ट्रपति र ओलम्पिक कमिटिका जिम्मेवार पदाधिकारीसम्म पुर्याउन पनि आग्रह गरेका छन् ।
चिनियाँ प्रदर्शनकारीले यसलाई कुनै राजनीतिक वा अन्य दृष्टिकोणले नहेर्न र स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिन पनि ध्यानाकर्षण गराएका छन् । उनीहरूले ओलम्पिक स्थगित गराउन यस्ता दबाबमूलक अभियानलाई निरन्तरता दिइरहने पनि जानकारी गराएका छन् ।
बेइजिङ ओलम्पिक सन् २०२२ को फेब्रुअरी ४ देखि फेब्रअरी २० सम्म बेइजिङ नेसनल स्टेडियममा गर्ने तय भएको छ । सो प्रतियोगितामा ७ खेलका १०९ प्रतियोगिता हुने तय गरिएको छ । (रासस–एएनआई)