सियोल । उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रूपमा लिने विश्वास व्यक्त गर्नुभएको छ ।
उत्तर कोरियाली नेता किमजङ अनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुवै गर्ने गरी आफ्ना अधिकारीलाई आदेश दिएलगत्तै अमेरिकी विशेषदूत किमले सोमबार यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।
उत्तर कोरिया मामिलामा रोकिएको कूटनीतिक प्रयासका बारेमा दक्षिण कोरियाली र जापानी अधिकारीसँग वार्ता गर्न अमेरिकी विशेषदूत सुङ किम यतिबेला सियोलमा हुनुहुन्छ । खासगरी, उत्तर कोरियाली आणविक कार्यक्रम र अमेरिकी अग्रसरतामा उत्तर कोरियामाथि लागेका प्रतिबन्धका बारेमा वार्ता केन्द्रित भएका छन् ।
गत साता प्योङयाङमा आयोजित उत्तर कोरियाली राजनीतिक सम्मेलनमा नेता किमजङ अनले देशको अर्थतन्त्रमा सुधार ल्याउन सुदृढ प्रयास थाल्न आह्वान गर्नुभएको थियो ।
अमेरिकी अग्रसरतामा लागेका प्रतिबन्धका कारण सङ्कट ब्यहोरिरहेको उत्तर कोरियाको अर्थतन्त्र कोरोना महामारीका कारण गरिएको सीमाबन्दी र खाद्यान्न अभावले अझ सङ्कटमा परेको छ ।
अमेरिकी विशेषदूत सुङ किमले उत्तर कोरियाली नेताका टिप्पणीलाई आफूहरूले “नोट” गरेको बताउँदै वार्ताका लागि गरिएको आग्रहलाई उत्तर कोरियाले सकारात्मक रूपमा लिने विश्वास व्यक्त गर्नुभयो ।
दक्षिण कोरियाली र जापानी आणविक निशस्त्र सम्बन्धी कूटनीतिज्ञसँगको भेटवार्तापछि किमले भन्नुभयो– “हामीहरूले वार्ताका लागि कुनै पूर्वसर्त राखेका छैनौँ । हामीहरू कुनै पनि ठाउँमा कुनै पनि समयमा वार्ताका लागि तयार छौँ ।”
दक्षिण कोरियाली विदेश मन्त्रालयले तीनै देशका वरिष्ठ अधिकारीले सामूहिक रूपमा उत्तर कोरियालाई वार्ताका लागि सन्देश दिएको जनाएको छ ।
उत्तर कोरियाली नेता किमजङ अन र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिच २०१९ मा वार्ता भङ्ग भएयता ठोस वार्ता भएका छैनन् । उक्त वार्ताहरूमा नेता किमले आफ्नो देशमाथि लागेका अधिकांश प्रतिबन्ध फुकुवा हुने आसा गरे पनि त्यसलाई अमेरिकाले अस्वीकार गरिदिएको थियो ।
दक्षिण कोरियाले अन्तरकोरियाली संयन्त्रलाई पुनः सक्रिय बनाउन कूटनीतिक पहल सार्थक हुने विश्वास गरिरहेको छ भने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले पूर्व राष्ट्रपति ट्रम्पको झैँ सोझै वार्ताको साटो मध्यवर्ती विधिमा जोड दिएको छ । (रासस–एपी)